४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना थुनामुक्त
वि.सं.२०७७ चैत ७ शनिवार २०:१३
shares

बिनासुनुवाइ ४० वर्षदेखि भारतको जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) शनिबार रिहा भएका छन् । उनी कर्तव्य ज्यान मुद्दामा थुनामा परेका थिए । उनको मानसिक अवस्था ठीक नहुँदा मुद्दाको सुनुवाइ नभई जेलमै राखिएको थियो ।
उनलाई थुनामुक्त गर्न कोलकाता हाइकोर्टले बुधबार आदेश दिएको थियो । अदालतले उनलाई परिवारको जिम्मा लगाउन भनेको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारबाट मुक्त गर्ने प्रक्रिया सुरु गरेको थियो । भाइ प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्यदूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई आज कारागारमुक्त गरिएको हो ।
४० वर्षअघि उनी काम खोज्न दार्जिलिङ गएका दुर्गाप्रसादको घर इलामको माई नगरपालिका वडा नम्बर १० हो । ४० वर्षसम्म बन्दी जीवन बिताउँदा उनको शारीरिक अवस्था ठीकै देखिए पनि मानसिक स्थिति भने ठीक नरहेको भारतीय अधिकारीले बताएका छन् । अदालतले ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन भनेको छ ।

























