एमाले संसदीय दल बैठक : गुट भेलामा जानेलाई कारबाही, पार्टीमा नफर्कनेलाई स्पष्टीकरण
वि.सं.२०७७ चैत ५ बिहीवार २०:१९
shares

नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरू कसैको निर्देशन नमान्न सांसदलाई निर्देशन दिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बसेको बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजानसमेत सांसदहरूलाई निर्देशन दिइएको छ ।
बैठकमा गुट भेलामा जानेलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा नियमित सहभागी हुन आह्वान गरिएको भन्दै दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिइएको छ । बैठकले त्यस्तो आह्वानअनुरूप पार्टीमा नफर्कनेलाई विधानअनुसार स्पष्टीकरण सोध्ने र आवश्कयताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको बताइएको छ ।
संसदीय दलको विधान संशोधन गर्न बैठकले २७ सदस्यीय संसदीय बोर्डसमेत गठन गरेको छ । बोर्डको प्रमुखमा दलका नेता ओली छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङलगायत छन् ।
नेपाल-खनाल पक्षका सांसदले ओलीले बोलाएको दलको बैठक बहिष्कार गरेका छन् । बालुवाटार जान हिँडेका सांसदहरु बीचबाटोबाटै फर्किएका थिए ।

























