ललितपुर महानगरपालिकाले चार वर्षमा उठायो १ अर्ब १७ करोड घरबहाल कर
वि.सं.२०७७ चैत ५ बिहीवार ००:५३
shares

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि ०७७/७८ को माघसम्ममा १ अर्ब १७ करोड ७० लाख ७६ हजार ७६६ रुपैयाँ घरबहाल कर संकलन गरेको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १० करोड ९२ लाख ५२ हजार ४५८ रुपैयाँ घरबहाल कर संकलन गरेको छ । उक्त आर्थिक वर्षको असारमा आवकै सबैभन्दा बढी ५ करोड ५० लाख ३७ हजार २४२ रुपैयाँ घरबहाल कर संकलन भएको छ भने मंसिरमा सबैभन्दा कम २४ लाख १५ हजार २०४ रुपैयाँ घरबहाल कर उठेको छ ।
आर्थिक वर्ष ०७५/७६ मा महानगरले अघिल्लो वर्षको भन्दा चार गुणा बढी अर्थात् ४० करोड ९५ लाख ९१ हजार ९९५ रुपैयाँ घरबहाल कर संकलन गरेको छ । आव ०७४/७५ मा भन्दा ३० करोड बढी रकम आव ०७५/७६ उठेको हो । आव ०७५/७६ को असारमा सबैभन्दा बढी ९ करोढ ७९ लाख १ हजार ८३३ रुपैयाँ र सबैभन्दा कम कात्तिकमा १ करोड ७२ लाख ४७ हजार ५२२ रुपैयाँ कर संकलन भएको छ ।
आव ०७६/७७ मा महानगरले आव ०७५/७६ कै अनुपातमा घरबहाल कर संकलन गरेको छ । उक्त वर्षमा ४० करोड २४ लाख ३९ हजार ४४२ रुपैयाँबराबर घरबहाल कर संकलन भएको हो । असारमा महानगरले सबैभन्दा बढी ११ करोड ५४ लाख १४ हजार ४१० रुपैयाँ रकम उठाएको छ । उक्त वर्षमा सबैभन्दा कम चैतमा ४८ लाख ८५ हजार १९१ रुपैयाँ संकलन भएको छ ।
वैशाख र जेठमा भने महानगरले घरबहाल कर संकलन गरेको छैन । उक्त समयमा विश्वभर फैलिएको कोरोनाभाइरसको कारण देशभर लकडाउन हुँदा कर संकलन गर्न नसकिएको महानगरले जानकारी दिएको छ । आर्थिक वर्ष ०७७/७८ को माघ महिनासम्म ललितपुर महानगरले कुल २५ करोड ५७ लाख ९२ हजार ८७१ रुपैयाँ घरबहाल कर उठाइसकेको छ । जसअन्तर्गत अघिल्ला आवसँग तुलना गर्ने हो भने महानगरले ७ महिनामा आधाभन्दा बढी रकम संकलन गरिसकेको छ । माघमा मात्रै सबैभन्दा बढी ५ करोड २० लाख ९९ हजार ५९२ रुपैयाँ रकम उठेको छ ।
साउनमा ३ करोड १८ लाख २३ हजार ७३४ रुपैयाँ रकम संकलन भएको छ । त्यस्तै भदौमा साउनमा भन्दा कम ७८ लाख ६७ हजार २५९ रुपैयाँ रकम संकलन गरेको छ । असोजमा ४ करोड ४४ लाख ३८ हजार २६८, कातिकमा २ करोड १० लाख १५ हजार २९२, कातिकमा ३ करोड ८० लाख ९२ हजार ९७९ र पुसमा ६ करोड ४ लाख ५५ हजार ७४८ रुपैयाँ घरबहाल कर उठेको छ ।
ललितपुर महानगरपालिकालका प्रवक्ता राजु महर्जनले महानगरभित्र ८० हजारदेखि देखि ९० हजारजति घरधुरी रहेको बताए । उनका अनुसार तीमध्ये ४४ हजारले घरबहाल कर तिर्ने गरेका छन् । अझै पनि शतप्रतिशत घरबहाल कर उठ्न नसक्नुमा घरबहालसम्बन्धी आवश्यक र अनिवार्य नीति बन्न नसकेको उनको बुझाइ छ ।
‘घरधनीहरुले अतिआवश्यक पर्दा मात्र घरबहाल कर तिर्न आउँछन्, अरुबेला वास्ता हुँदैन, विदेश जानुपर्ने सिलसिलामा, बैंकिङको सिलसिलामा, जग्गा किनबेचको सिलसिलामा महानगरपालिकाले घरबहाल कर तिरे/नतिरेको खोज्ने हुँदा त्यस बेला तिर्ने गर्छन्,’ उनले भने ।
शतप्रतिशत घरबहाल कर उठ्नका लागि जसरी सरकारले बत्ती र पानीको बिल तिर्न अनिवार्य गरेको छ, त्यसरी नै घरबहाल कर तिर्न अनिवार्य गर्नुपर्ने उनले बताए । उनले भने, ‘नतिरेमा लाइन काटिदिने, जरिवाना गर्ने जस्ता नियम घरबहाल करमा बनाउनु आवश्यक छ ।’ महानगरपालिकाले कोभिडको समयमा घरबहाल करमा १० प्रतिशत छुट गरेको थियो ।
उनको भनाइअनुसार घरबहाल कर संकलनमा उल्लेख्य वृद्धि भएको छ । उनले महानगरले अनुमानित गरेअनुसारकै घरबहाल कर उठिरहेको बताए । सबैले कर तिर्ने वातावरण बनाउन महानगरपालिकाले समय-समयमा विभिन्न चेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने गरेको प्रवक्ता महर्जनले जानकारी दिए ।

























