आयोगको टोलीमाथि दुर्व्यवहार गर्ने सचिवलाई तीन दिनभित्र जानकारी दिन माग
वि.सं.२०७७ फागुन २१ शुक्रवार २३:५३
shares

मानवअधिकारको टोलीमाथि दुर्व्यवहार गर्ने प्रमुख सचिवसँग जानकारी माग गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे के भएको हो ? बुझ्न तीन दिनभित्र जानकारी उपलब्ध गराउन माग गरेको हो ।
बुधबार भूमि, आवास, शिक्षालगायतका मागका लागि धर्नामा बसेका बादी समुदायको अवस्था बुझ्न गएको टोलीमाथि कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र सामाजिक विकासमन्त्री लोकनाथ पौड्यालले दुव्र्यवहार गरेको आरोप लागेको थियो । आयोगको शाखा कार्यालय नेपालगञ्जका प्रमुख झंकरबहादुर रावल सहितको टोलीलाई प्रहरी लगाई कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास भएको उनीहरुको आरोप छ ।
सोही विषयमा आयोगमा प्रतिवेदन गएपछि शुक्रबार आयोगको केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति निकालेर तीन दिनभित्र सत्यतथ्य के भएको हो जानकारी गराइदिनु होला भन्दै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई पत्राचार गरेको हो । नेपालको संविधान र राष्ट्रिय मानवअधिकार आयोगको ऐन २०६८ बमोजिम माग गरिएको पत्रमा उल्लेख छ ।
बादी समुदायको मागहरु समाधान गर्न प्रदेश सरकारले गरेका पहलका विषयमा बुझ्न प्रमुख सचिवको कार्यालयमा गएको टोलीलाई तपाईहरुलाई जानकारी दिन आयुक्त हो र ? भन्दै सचिवहरुले हपारेका थिए । प्रहरी सहायक निरीक्षक नरेन्द्र वि.सीलाई आदेश दिई कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास गरेको भन्दै आयोगको केन्द्रीय कार्यालयमा प्रतिवेदन गएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

























