शिवचरण हत्याकाण्ड : अबैध सम्बन्धपछि हत्या, प्रेमिका पक्राउ
वि.सं.२०७७ फागुन २२ शनिवार ०१:१६
shares

फागुन १५ गते कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना मृत भेटिए । हत्या गरेर कल्भटमा फालिएको अवस्थामा रानाको शव भेटिएको थियो । झट्ट हेर्दा कुनै राजनीतिक घटना हो कि वा लेनदेनकै हो भन्नेपनि प्रहरीलाई नलागेको होइन । तर, प्रहरीको अनुसन्धानले फरकै निष्कर्ष निकाल्यो । प्रहरीका अनुसार रानाको हत्या गर्ने रानाकै प्रेमिका गोदावरी–५ की ३७ वर्षीया जयन्ती चौधरी हुन् ।
चौधरी केही समयदेखि मृतक शिवचरण रानासँगको प्रेम सम्बन्धमा थिइन् । दुवै विवाहित भएकाले त्यो सम्बन्ध एउटै गाउँको समाजले स्वीकार गर्ने कुरै थिएन । दुवैजना अबैध सम्बन्धपछि नजिक बनेका थिए । उनीहरु एक अर्काको घरको काममा समेत सघाउँथे ।
शिवचरणको घरमा श्रीमती, एक छोरा र एक छोरी थिइन् भने जयन्तीको घरमा श्रीमान् र दुई छोरी थिइन् । दुवैको सम्बन्धबारे धेरै भएपछि एकदिन युवतीका श्रीमानले दुवैलाई रंगेहात आफ्नै घरमा फेला पारेका थिए । त्यही दिन युवतीका श्रीमानले उनलाई घरबाट निकाले । तर, शिवचरणले २ लाख दिने र अबबाट नभेट्ने सहमतिपछि युवतीका श्रीमानले युवतीलाई पुनः स्वीकारे ।
त्यसपछि पनि शिवचरणले मानेनन् । फेरि युवतीलाई भेट्न खोजिरहे । केही न केही बाहाना बनाएर आफूलाई भेट्ने गरेको युवतीले प्रहरीलाई बताएकी छन् । सोही क्रममा शिवचरण अर्की युवतीसँग प्रेममा फसेको कुरा जयन्तीले थाहा पाइन् । श्रीमती र आफूबाहेक अर्कै केटीसँग शिवचरण प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि युवतीको मनमा घृणा पैदा भएको थियो । उनले त्यसो नगर्न आग्रह गरे पनि शिवचरणले धम्की दिएपछि युवतीमा बदलाको भावना आएको थियो ।
हत्या गर्न ४० हजार रूपैयाँ
शिवचरणले जयन्तीलाई पटक पटक भेट्नका लागि सताइरहने र अर्कै प्रेमिका बनाइरहने बानीले जयन्तीमा बदलाको भावना आयो । आफ्नो पीडा १ महिनाअघि एक नातेदारलाई सुनाएर शिवचरणको हत्या गर्ने योजना बन्यो । शिवचरणको हत्याका लागि जयन्तीले नातेदारलाई ४० हजार रुपयाँसमेत दिएको प्रहरी श्रोतले बताएको छ ।
हत्याको योजना बनेपछि गेटा आँखा अस्पताल नजिक व्यवसाय गर्दै आएका रानालाई दैनिक नियाल्थे । शिवचरण बिहान भैँसी दुहुन पसलबाट घर फर्किने गरेका थिए । उनी सधै बिहान ४ बजेको समयमा भैँसी दुहुन घर जाने गरेको ती युवकले पत्तो पाए र हत्या गर्ने तयारी गरे । हत्या आरोपमा पक्राउ परेकी युवतीका ती नातेदारले आफ्ना एक सहकर्मीलाई समेत हत्या योजनामा सामेल गरेका थिए ।
यस्तो छ प्रहरीको अनुसन्धान
धारिलो हतियार प्रयोग गरी हत्या भएको दिनबाटै अनुसन्धान गरेको प्रहरीले शिवचरण र युवतीबीचको सम्बन्धबारे खबर पाइसकेको थियो । शिवचरण र जयन्तीबीच विगतमा भएको २ लाखको सम्झौताबारे चाल पाएपछि युवतीलाई नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरेको प्रहरी समक्ष युवतीले बारम्बार अपराध अस्वीकार गर्दै आएकी थिइन् । ३/४ पटकसम्म नियन्त्रणमा लिएर सोछपुछ गर्दा समेत युवतीले मुख नखोलेपछि प्रहरीको हात युवतीले प्रयोग गर्दै आइरहेको अर्को सीमकार्ड लाग्यो । सो सीमकार्डमा शिवचरण र युवतीबीच भएका ‘कलडिटेल’ भेटिएपछि अन्ततः युवती गलिन र उनले आफ्नो अपराध स्वीकार गरिन ।
युवतीको साबिती बयानपछि ती दुवै युवकले नै शिवचरण रानाको हत्या गरेको निचोड निस्किएको हो । योजना बनाएर २ जना युवकमार्फत जयन्तीले शिवचरणको हत्या गरेकी हुन् । तर, ती दुवै युवक फरार छन् । उनीहरुको खोजीका लागि सादा पोशाकमा विभिन्न प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । जयन्तीले उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम शमशेर जबराले बताए । उनले अन्यको खोजी कार्य भइरहेको र चाँडै हत्यारा पनि पक्राउ गरिने बताए ।

























