गृहपृष्ठ क्यानको साधारणसभामा मन्त्रीको उद्घोष‑ इन्टरनेटको शुल्क घटाउँदै छौँ

क्यानको साधारणसभामा मन्त्रीको उद्घोष‑ इन्टरनेटको शुल्क घटाउँदै छौँ

क्यानको साधारणसभामा मन्त्रीको उद्घोष‑ इन्टरनेटको शुल्क घटाउँदै छौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको शुल्क घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै कार्यान्वयन गरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित क्यान महासंघको २७औं साधारण सभामा उनले इन्टरनेटको शुल्क कम गराउने विषयमा सरकारको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

इन्टरनेट सेवा महँगो र कम प्रभावकारी भयो । त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा सरकारले गृहकार्य गरिरहेको छ,’ उनले भने । तर, कहिलेसम्म घट्छ भन्ने विषयमा भने उनले जानकारी गराएनन् ।

इकमर्स, इएजुकेसन, इहेल्थलगायत सबैको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको उनले जानकारी गराए । त्यसको प्रभावकारी कार्यान्वयनले देश विकासको नयाँ खाका कोर्ने सरकारको विश्वास छ,’ उनले भने, ‘नागरिक एप त्यसैको एक कडी हो । हामी कागजरहित कार्यालय र भौतिक उपस्थितिरहित सेवाको लक्ष्य लिएर अघि बढिरहेका छौं ।

आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य, समयको वचत तथा सेवाग्राही र आमजनतालाई सुविधा दिनका लागि पनि डिजिटल विकासको विकल्प नभएको मन्त्री गुरुङले बताए । दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय इन्टरनेट प्रवाह गर्नेजस्ता कुरालाई सरकारले प्राथमिकतामा राखेको तथा दूरसञ्चार र इन्टरनेटको विकाससँगै सूचना प्रविधिका अन्य आयाम दूरदराजसम्म पुग्ने उनको तर्क छ ।

अप्टिकल फाइबरलाई दुर्गम जिल्लामा पु¥याउने कुरामा सरकारले हालै नीतिगत निर्णय गरेको छ । हरेक स्थानीय तहका वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीसम्म जति सक्दो चाँडो इन्टरनेट सञ्जालमा जोड्ने हाम्रो नीति हो । यसले हरेक प्रकारका विकासका लागि पूर्वाधार खडा गर्नेछ भने पहाडी तथा हिमाली जिल्लामा पनि लगानी तथा व्यवसाय विस्तारका सम्भावनाको ढोका खोल्नेछ,’ मन्त्री गुरुङले भने ।

व्यवसायी तथा जनप्रतिनिधिलाई कम्प्युटर, इन्टरनेटलगायत विषयमा गहन तालिमको आवश्यकता उनले औँल्याए । क्यान महासंघले यस्ता तालिमको योजना र कार्यक्रम बनाएर प्रस्ताव गर्ने हो भने त्यसमा सघाउन सञ्चार मन्त्रालय तयार रहेको पनि उनले बताए ।

दूरसञ्चारका क्षेत्रमा सरकारकै पैसाले पूर्वाधार तयार गरी त्यसलाई निजीजस्तै गरी प्रयोग गर्ने प्रवृत्तिसमेत देखिएको भन्दै उनले त्यसलाई निरुत्साहित गर्ने स्पष्ट पारे । टेलिफोन नटिपेमा टावरलाई दोष दिन्छौं, सेवाप्रदायकको नियत वा प्रविधिमा प्रश्न उठाउँदैनौं, त्यसैले उपभोक्तालाई जागरुक बनाउनुपर्छ । त्यसमा भूगोलको दोष होइन, व्यवसायीको हो । जनताका यस्ता समस्या क्यान फेडेरेसनले उठाइदिन आवश्यक छ,’ उनले भने ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरस महामारीले आमजनजीवन र व्यवसायलाई नराम्ररी प्रभावित गरे पनि सूचना प्रविधि व्यवसायका लागि यसअघि कहिल्यै नदेखिएको सम्भावनाको ढोका खोलेको बताए । सूचना तथा सञ्चार प्रविधिमा हामीले यसअघि कहिल्यै नदेखेको वृद्धि र विकास देखिरहेका छौं । धेरै व्यवसाय, गतिविधि तथा कारोबार अनलाइनबाटै सञ्चालन भएका छन्, त्यसैले म सरकारसँग सूचना तथा सञ्चार प्रविधिको उच्च विकासका लागि सबल र उन्नत पूर्वाधार खडा गर्न आग्रह गर्छु,’ उनले भने ।

सरकारलाई त्यस्ता कार्यमा सघाउन र आवश्यक परामर्श गर्नका लागि क्यान महासंघ सदैव तयार रहेकोे पनि उनले बताए । तत्कालका लागि बैंकिङ, यातायात, राजस्वलगायतका क्षेत्रलाई पूर्णरुपमा डिजिटाइज्ड गर्नुपर्ने र यसले लागत र भ्रष्टाचार दुवै कम गर्ने उनको भनाइ छ ।

कोभिड महामारीका कारण क्यानका कतिपय कार्यक्रम हुन नसकेको उनको भनाइ छ । पुस, माघमै सम्पन्न गर्नुपर्ने क्यान इन्फोटेक करिब तीन महिना पर धकेलिएको छ भने प्रदेश स्तरमा गर्ने भनिएको इन्फोटेक यो वर्षका लागि स्थगित गरिएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सूचना प्रविधि क्षेत्र अझै सरकारको प्राथमिकतामा नपरेको बताए । काभ्रेस्थित आईटी पार्कको उपयोग हुन नसक्नु तथा आईटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति नआउनुले त्यस्तो संकेत गरेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि क्षेत्रको विकास र त्यसको प्रयोगबिना शिक्षा, स्वास्थ्य र अन्य व्यवसायले गति लिन नसक्ने बताए । उनका अनुसार डिजिटल पेमेन्ट अहिलेको सबैभन्दा आवश्यकताको क्षेत्र हो र त्यसका लागि सरकारले अझै सहजीकरण गर्नु र ठोस नीति ल्याउन आवश्यक देखिएको छ । सूचना तथा सञ्चार प्रविधि अझै पनि राजधानी र सहर केन्द्रित भएको मल्लले बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ७७ जिल्लाका ६५४ स्थानीय तहसम्म फोरजी प्रविधि विस्तार गर्न टेलिकमले काम गरिरहेको जानकारी गराए । स्थानीय सरकार शक्तिशाली छन्, उनीहरुसँग सहकार्य गर्न सक्यौं भने हामीले छिटो व्यवसाय र प्रविधिको विस्तार गर्न सक्छौं,’ उनले भने ।

साधारण सभाको अवसरमा क्यान महासंघले संस्थाका उत्कृष्ट जिल्ला कमिटीहरुलाई सम्मान गरेको थियो, जसमा पर्सा प्रथम, झापा दोस्रो र रुपन्देही तेस्रो भए ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु