काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोरोना संक्रमणमुक्त हुँदै काभ्रे

17.56K
shares

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यतातर्फ झरेको छ । काभ्रेको १३ मध्ये हाल दुई स्थानीयतहमा चार संक्रमित छन् । ११ स्थानीय तह संक्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार बिहीबार ६ संक्रमित रहेकोमा शुक्रबार दुई संक्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस संक्रमण भएका थिए । 

काभ्रेमा १४ महिलासहित ४५ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ९९.८९ प्रतिशत संक्रमणमुक्त भइसकेको जनाइएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना संक्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ । चार संक्रमित होम आइसोलेसनमा उपचाररत छन् । 

कोरोना संक्रमणविरुद्ध कोरोना–खोप (कोभिसिल्ड)को पहिलो चरणअन्तर्गत काभ्रेको ६ हजार ७८९ ले लगाएका छन् । पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उनले काभ्रेमा दोस्रो चरणको खोप कार्यक्रमका लागि तयारी भइरहेको बताए । 

खोप सेवा नमोबुद्ध नगरस्थित मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । भारत सरकारले माघ पहिलोसाता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । चिकित्सकका अनुसार कोरोना सङ्क्रमणविरुद्धको खोप पूरा हुन एक व्यक्तिलाई दुई पटक लगाउनुपर्ने हुन्छ । (रासस)