विश्वभर ११ करोड १९ लाखमा पुग्यो कोरोनाभाइरस, २४ लाखको मृत्यु
वि.सं.२०७७ फागुन १० सोमवार १९:१४
shares

विश्वभर ११ करोड १९ लाख ६६ हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बितेका २४ घण्टामा मात्रै ३ लाख १२ हजारमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा विश्वभर १ हजार २४५ जनाको कोरोनाको कारण ज्यान गुमेको छ । यससँगै विश्वमा हालसम्म कोरोनाभाइरसबाट २४ लाख ७८ हजारले ज्यान गुमाएका छन् ।
त्यस्तै ८ करोड ७३ लाख ३३ हजार संक्रमणमुक्त भएका छन् । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २१ लाख ४९ हजार छ, जसमध्ये ९३ हजारको अवस्था गम्भीर रहेको वल्र्डोमिटरले जनाएको छ ।
सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको अमेरिकामा हालसम्म ५ लाख ११ हजारले ज्यान गुमाएका छन् भने २ करोड ८७ लाख ६५ हजार संक्रमित छन् । अमेरिकामा हालसम्म १ करोड ८९ लाख ७३ हजार निको भई घर फर्किसकेका छन् । अमेरिकामा २४ घण्टामा मात्रै १ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने ५७ हजार नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाभाइरस बढी प्रभावित दोस्रो राष्ट्र भारतमा हालसम्म १ करोड १० लाख ५ हजारमा संक्रमण पुष्टि भएको छ भने १ लाख ५६ हजारको ज्यान गएको छ । त्यस्तै भारतमा १ करोड ६ लाख ९९ हजार डिस्चार्ज भएका छन् ।
तेस्रो राष्ट्र ब्राजिलमा कोरोनाबाट २ लाख ४६ हजारले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा हालसम्म १ करोड १ लाख ६८ हजार संक्रमित भएका छन् भने निको हुनेको संख्या ९० लाख ९५ हजार छ ।
नेपालमा कोरोना संक्रमण थपिने क्रम निकै कम छ । २४ घण्टामा ८० जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ । कोरोनाबाट नेपालमा हालसम्म २ हजार ६१ जनाको ज्यान गएको छ भने २ लाख ७९ हजार ८७६ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

























