तीर्थ प्रसादको जीवन यात्रा : सामाजिक विषय समेटिएको मन छुने कृति
वि.सं.२०७७ फागुन ७ शुक्रवार ०१:०१
shares

छोरा नजन्मिँदासम्म सन्तान नै नभएकोजस्तै समाजमा अपहेलित बन्नुपर्ने अवस्था देशभरी नै होला । त्यसमा अझ सुदूरपश्चिम प्रदेशमा बढी नै छ । अहिले छोरीमात्र भए पनि केहीले स्वीकार्न थाले पनि ५/६ दशकपहिले अवस्था फरक थियो । छोरा जन्माउनकै लागि आमाहरुले दर्जन छोरीलाई जन्म दिनुपर्थ्यो । जसको छोरा छैन, उसलाई समाजले निसन्तानझैँ अपहेलना गर्थे । यही पीडा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाकी आमाले पनि खेप्नुपरेको थियो । आमाको उमेर ४५ वर्ष पुग्दासम्म छोरा नजन्मिनु र समाजमा अपहेलित हुनु र बुवाको तिर्थ यात्राले आफू जन्मेको कथालाई समेटेर सभामुख थापाले ‘तीर्थ प्रसादको जीवन यात्रा’ नामको पुस्तक बिहीबार सार्वजनिक गरेका छन् ।
हरेक विवाहित दम्पत्तिले सन्तान चाहन्छन् नै । त्यसमा पनि बढीजसोको छोरा नै पहिलो रोजाई हुन्छ । सहरी क्षेत्रमा छोरा नहुनेलाई अपहेलना कम भए पनि ग्रामीण क्षेत्रमा छोरा नहुने आमा बुवालाई हेर्ने दृष्टिकोण अझै पनि फरक छ । छोराकै लागि आमा बुवाले गरेको संघर्षलाई सभामुख थापाले पुस्तक तयार पारेका हुन् । बझाङको खप्तड छान्ना गाउँपालिका- २, देहलीमा जन्मेका सभामुख थापा बुवा ५२ र आमा ४५ वर्षको उमेर हुँदा जन्मिएका थिए । तीन छोरी जन्माइसकेकी थापाकी आमा राइकोशालाई छोरा नै पाउनुपर्ने बाध्यताजस्तै थियो । सभामुख थापाको पुस्तकअनुसार ‘कान्छा मुखिया’ भनेर चिनिने उनका बुवा जंगबहादुरले छोरा पाउनकै लागि कयौँ तीर्थस्थलमा धार्मिक यात्रा गरेका थिए ।
आफूले २०७१ सालदेखि उक्त पुस्तक लेख्न सुरु गरेको उनले बताए । फुर्सदमा रहेको समयमा आफ्नो जीवनको भोगाइलाई स्मरण गर्नका लागि पुस्तक लेखेको उनको भनाइ छ । सभामुख थापाले हालसम्म ५ वटा कृति प्रकाशन गरिसकेका छन् । फुर्सदको समयमा केही लेख्ने र त्यसले समाजमा धेरै प्रभाव पार्ने हुँदा समाज रुपान्तरण हुने खालका लेख लेख्न समेत थापाले लेखकहरुलाई अनुरोध गरेका छन् ।
उनले सो पुस्तकमा छोरा नभएको चिन्ता, पुत्र प्राप्तिको खुशी, म जन्मेको गाउँ, थापा काजीको वंशावली, शिक्षामा मेरो पहिलो खुड्किलो, मेरो गाउँ शिक्षाको इतिहास, लामातोला हाई स्कुलको चिनारी, सत्यवादी हाई स्कुलमा मेरो अध्ययन लगायतका विषय सूची समेटेका छन् । यसका साथै उनको आफ्नो शैक्षिक र राजनीतिक पृष्ठभूमिसमेत पुस्तकमा समेटिएको छ । शिक्षण पेशाबाट राजनीतिमा आएका थापा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सदस्य बनेका थिए ।
सुदूरपश्चिम प्रदेश प्रमुख सर्मिला पन्तले पुस्तकको लोकार्पण गरेकी हुन् । टिप्पणीकर्ताहरुले पनि विगतको कुरालाई सही विश्लेषण गरेको र समाजको हेर्ने दृष्टिले समेत मान्छेको जीवन रेखा कोरिने कुरालाई जोड दिएका थिए । साहित्यकार रामलाल जोशीले पुस्तकमा एक सामान्य परिवारमा जन्म भएका नागरिकको जीवन यापनलाई चित्रण गरिएको बताए । उनले देशमा ठूलाबडाको छोरानातिप्रति कसैको चासो नहुने बताउँदै सामान्य परिवारमा जन्म भएका नागरिकको जीवन यात्राप्रति सबैको चासो हुने बताए । उनले सुदुरपश्चिम प्रदेशले एक सफल सभामुख मात्र जन्माएको नभई सफल साहित्यकारसमेत जन्माएको बताए ।
सुदुरपश्चिमाञ्चल एकेडेमीका प्राध्यापक बेदप्रसाद जोशीले सभामुख थापाले लेखेको उक्त पुस्तकको नाम तीर्थ प्रसादको जीवन यात्रा किन राखियो भन्ने कुरालाई खण्डन गर्दै सभामुख थापाका बुवा-आमाले आफ्नो बुढेसकालसम्म छोरा नजन्मिँदा भारतका विभिन्न ठाउँमा तीर्थ गएपछि मात्र उनको जन्म भएकाले उनले पुस्तकको नाम नै तीर्थ प्रसाद राखेको बताए ।
पुस्तकमा लेखिएका कुरा र समाजले कोरिरहेको बाटोप्रति सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले चासो दिएका थिए । कार्यक्रममा बोल्दै उनले जसरी हाल समाज पुरानो गलत संस्कृतिलाई त्याग्दै सुधारतिर गइरहेको छ, त्यसरी सबै कुराको सकारात्मक विकास हुन नसकेको बताए । मुख्यमन्त्री भट्टले सभामुख थापाले लेखेको यो पुस्तक अन्य व्यक्तिका लागि समेत प्रेरणादायी बन्ने बताए । उनले हाम्रो समाजमा अरुको लागि काम गर्ने र जीवनसमेत अर्पण गर्ने मानिसहरु थोरै हुने बताउँदै थापाले आफ्नो जीवन नै अरुको लागि समर्पित गरेको उल्लेख गरे । कसैको व्यक्तिगत जीवनीबाट धेरैले सकारात्मक कुराहरु सिक्ने बताउँदै मुख्यमन्त्री भट्टले भने, ‘सभामुख थापाले पुस्तकमा ल्याउनु भएको कुराले धेरैलाई ज्ञान दिन्छ ।’

























