गृहपृष्ठ कृषि विकास बैंकको ५ करोड घोटालाकी योजनाकार दिपिका जेलमा
कृषि विकास बैंकको ५ करोड घोटालाकी योजनाकार दिपिका जेलमा

काठमाडौं- कृषि विकास बैंक, न्यूरोड शाखाको करिब ५ करोड रुपैयाँ हिनामाना काण्डकी योजनाकार बैंककै सहायक टेलर दिपिका रेग्मीलाई जेल चलान गरिएको छ ।
उच्च अदालत, पाटनले बुधबार उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
घटनामा मुछिएका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेललाई १ करोड, इसीसी प्रमुख गोपाल गिरीलाई ५० लाख, कर्जा प्रमुख महेश्वर मरहट्टा र सरिल रेग्मीलाई २५/२५ लाख र तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका ज्वलरी पसल सञ्चालक प्रकाश घतानीलाई ५ लाख रुपैयाँ धरौटी मागिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता जीवन श्रेष्ठले बताए ।
त्यस्तै, तारनाथ पाण्डेलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने बैंकका सुरक्षागार्ड रमेशकुमार थापालाई साधारण तारेखमा छाडिएको छ ।
यस्तो थियो घटना
मंसिर महिनाको दोस्रो साता सीआईबीले अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको भन्दै दिपिकासहित ३ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।
उनले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गरेको र बैंकमा रहेको आˆनो र आफन्तको खातामा रकम जम्मा गरेको थिइन् । यसरी जम्मा भएको रकम उनले सुनचाँँदी लगायतका सामाग्री खरिदमा प्रयोग गरेको भेटिएको छ ।
त्यसरी पाएको रकम उनले विभिन्न व्यक्तिको खातामा जम्मा गर्ने गरेकी थिइन् । अनुसन्धानका क्रममा बैंकका अन्य कर्मचारी पनि उनको कर्तुतमा संलग्न भएको खुलेको थियो ।
दिपिकाको योजनामा नेपाली सेनाका सहयाकरथी रमेश विष्ट समेत मुछिएका थिए । दिपिकाले बैंकबाट हिनामिना गरेको रकम विष्टको खातामा समेत भेटिएको थियो । हाल उनलाई सैनिक हिरासदमा राखेर अनुसन्धान भइरहेको छ ।
बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको थियो ।
प्रकाशित समय : १२:४३ बजे