गृहपृष्ठ होली विधिवत रुपमा शुरु, बसन्तपुरमा चीर गाडियो
होली विधिवत रुपमा शुरु, बसन्तपुरमा चीर गाडियो
काठमाडौं, ११ फागुन । रंगहरुको पर्व होली शुक्रबारबाट विधिवत रुपमा शुरु भएको हो । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरूको ध्वजासहित तीन खण्डे चीर ठड्याएसँगै होली शुरु भएको हो ।
हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा शुक्रबार बिहान ११ बजेर ५७ मिनेटको शुभसाइतमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होली चीर ठड्याइएको हो।
फागुन १७ मा काठमाडौं उपत्यकालगायत पहाडी भेगमा होली पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ।
प्राचीन समयमा प्रह्लादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले दिदी होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रह्लादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफैँ जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।
असत्यमाथि सत्यको जितका रुपमा होली मनाउन थालिएको हो । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन मनाइने होली आठौं दिन चिर सेलाएसँगै समापन हुन्छ । बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा हेरबदल हुँदै आएको छ।
प्रकाशित समय : १७:१९ बजे