गृहपृष्ठ नेपालमै एनआरएनहरुको जीवन बीमा
नेपालमै एनआरएनहरुको जीवन बीमा
काठमाडौं । अब एनआरएनहरुको जीवन बीमा नेपालमै हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एनआरएनहरुको जीवन बीमा गराउने प्रक्रिया अघि बढाएको हो । सानिमा लाइफले नेपाली बैंकमा खाता खोल्नुपर्ने र नेपाली रुपैंयाँमै बीमा शुल्क लिने गरि एनआरएनहरुको जीवन बीमा गराउने योजना अघि बढाएको नायव महा प्रबन्धक केशबराज केसीले बताए ।
‘नेपाली बैंकमा नेपाली रुपैंयाँमा प्रिमिय लिने र नेपाली रुपैंयाँमै नेपाली बैंकमै दावी भुक्तानी दिने गरी एनआरएनहरुको जीवन बीमा गराउने योजना अघि सारेका छौं,’ सानिमा लाइफका नायब महाप्रबन्धक केसीले भने । उनले अधिकतम २५ लाख रुपैंयाँसम्मको बीमा गराउने गरि सानिमा लाइफ सरल नामको पोलिसी ल्याएको पनि बताए । ‘सानिमा सरल पोलिसी अहिले कार्यान्वयनमै छ, त्यसैमा एनआरएनहरुलाई समेट्न खोजेका हौं,’ केसीले भने ।
एनआरएनहरुको समुहले सञ्चालन गरेको सानिमा लाइफले एनआरएनमा आवद्ध संघ संस्थाहरु मार्फत नै बीमा गराउन लागेको हो । ‘एनआरएनका संघहरुसँगको समन्वयमा बीमा गराउने हो, दावी भुक्तानीको आधारका लागि तिनै एनआरएनका संघ र विदेशस्थित नेपाली दुतावासहरुसँग समन्वय हुनेछ,’ केसीले भने । केसीले एनआरएनहरुको जीवन बीमा गराउँदा प्रीमियम असुली र दावी भुक्तानी फर्छौटका बारेमा बीमा समितिसँग पनि पटक पटक समन्वय गरिसकेको छ ।
समितिले तत्कालका लागि सानिमा सरल योजना मार्फत नै बीमा गराउन र निकट भविष्यमै एनआरएनहरुका लागि छुट्टै पोलिसी बनाउन सुझाएको थियो । ‘अहिलेलाई पुरानौ पोलिसीबाट र अलिपछि छुट्टै पोलिसी बनाउन सुझाव दिएका छौं, समितिले पनि एनआरएनहरुको बीमा गराउँदा पेमेन्ट गेटवे के हुन्छ, दावी भुक्तानीलाई कसरी पारदर्शी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ बीमा समिति श्रोतले भन्यो ।
प्रकाशित समय : १०:५७ बजे