गृहपृष्ठ बुटवल उपमहानगरको सौन्दर्य थप्दै ग्रीन जोन

बुटवल उपमहानगरको सौन्दर्य थप्दै ग्रीन जोन

बुटवल उपमहानगरको सौन्दर्य थप्दै ग्रीन जोन

भरत केसी । बुटवल । ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ !’ सडक छेउमै राखिएको यस्तो सूचना देखेर धेरैलाई अच्चम लाग्न सक्छ । सिद्धार्थ राजमार्गको ६ लेन सडकअन्तर्गत भैरहवा–बुटवल खण्डको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित सडक छेउमा राखिएको सूचना हो यो । सडकको ग्रीन जोन क्षेत्रमा बनाइएको आकर्षक सुन्दर शहीद पार्क (फूलबारी) मा रोपिएका फूलका बिरुवाको सुरक्षार्थ सिसी क्यामेरा राखिएका हुन् ।
उक्त पार्कमा अहिले रु ३ लाखमा तीन वटा सिसी क्यामेरा जडान गरिएको र आवश्यकता अनुसार अन्य ठाउँमा पनि जडान गरिने बुटवल वडा नं १० का सदस्य बलु पुनमगर बताउँछन् । यसबाहेक स्थानीय स्तरमा नै रकम संकलन गरेर रु ७ लाखमा पार्क निर्माण गरिएको समेत उनले बताए । बुटवल राजमार्गदेखि जोगिकुटीसम्मको ६ लेन सडकको ग्रीन जोन क्षेत्रमा बनाइएका आकर्षक तथा सुन्दर फूलबारीमा वडा जनप्रतिनिधि पुन बिहानै व्यस्त देखिन्छन् ।
उनको हरेक बिहानी उक्त फूलबारीमा रोपिएका फूलका बिरुवामा पानी हाल्ने, मल राख्ने र गोडमेल गर्ने काममा बित्छ । ‘यति मेहनत गरेर बनाएको फूलबारीको सुरक्षा पनि त उच्च बनाउनु प¥यो नि ! त्यसैले सिसी क्यामेरा जडान गरेका हौं,’ उनले भने, ‘सुरक्षा मात्रै हैन, संरक्षण पनि त्यत्तिकै गर्नुपर्छ ।’ पुनका अनुसार आगामी चैत महिनाभरिमा राजमार्ग चौराहादेखि जोगिकुटीसम्मको सम्पूर्ण ग्रीन जोन क्षेत्रमा यस्तै सुन्दर र आकर्षक फूलवारी बनिसक्ने छ ।
सिद्धार्थ राजमार्गको बुटवलदेखि मणिग्रामसम्मको झण्डै १२ किलोमिटर क्षेत्रमा हरेक बिहान कतै न कतै ती फूलबारीहरूमा स्थानीय बासिन्दा, टोल विकास समिति, आमा समूह र स्थानीय स्तरमा सञ्चालित वित्तीय संस्थाहरूका प्रतिनिधिहरू फूलबारी निर्माण, बिरुवाको स्याहार र थुप्रिएको फोहर ब्यवस्थापनमा सक्रिय रहेको देखिन्छन् । बुटवल राजमार्ग चौराहादेखि कालिकानगर, जोगिकुटी, शंकरनगर, ड्राइभर टोल, नयाँ मिल र मणिग्रामसम्मका स्थानीय बासिन्दाको सडक सिंगार्ने अभियानले पछिल्ला दिनमा धुलाम्मे र फोहर सडक सफा र आकर्षक मात्र बनेको छैन स्थानीय बासिन्दालाई वातावरणीय स्वच्छताप्रति जागरुक र सक्रिय समेत बनाइदिएको छ ।
सिद्धार्थ राजमार्गको यो व्यापारिक मार्गको धेरै भाग तिलोत्तमा नगरपालिकामा पर्छ । सडकको दुबै किनारमा यस खालको ग्रीन जोन क्षेत्र छुट्ट्याइएका छन् । तिलोत्तमा नगरपालिकाले सबैभन्दा पहिले यो अभियान शुरु गरेको हो । नगरपालिकाको अभियानअन्तर्गत हरेक महिनाको १ गते र १५ गते नगर जनप्रतिनिधिसहित स्थानीय जनता हातमा कुचो लिएर सडकमा निस्कन्छन् र सडकमा जम्मा भएका फोहर बढार्न थाल्छन् । यस्तो सामूहिक प्रयासले धुलाम्मे सडक सफा, स्वच्छ र हरियाली बन्दै गएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरे बताउँछन् ।
सिद्धार्थ राजमार्गको बुटवल चौराहादेखि जोगिकुटीसम्म बुटवल उपमहानगरपालिकाको क्षेत्रमा र जोगिकुटीदेखि मणिग्रामसम्मको तिलोत्तमा नगरपालिकाको क्षेत्रमा दायाँबायाँ दुबैतर्फको ग्रीन जोन क्षेत्रका कतिपय स्थानमा नगर वडा कार्यालयले र अधिकाँश स्थानमा निजी तथा सामूहिक स्तरबाट यस्ता आकर्षक तथा सुन्दर फूलबारी निर्माण गरिएका छन् । यस्तो अभियान झण्डै १२ किलोमिटर राजमार्गको दायाँबायाँ दुवैतिर फैलिएको छ । ती फूलबारीहरूमा कतै ढकमक्क फूल फुलेका देखिन्छन् त कतै लटरम्म तरकारीसमेत फलाइएको भेटिन्छ ।
नगर प्रमुख घिमिरे यस खालका कार्यक्रम नगरपालिका स्वयंले भन्दा जनसहभागितामा प्रभावकारी र सफल हुने ठानेर सञ्चालन गरिएको बताउँछन् । अहिले स्थानीय जनता, नर्सरी व्यवसायी र निजी क्षेत्रलगायतको सहभागितामा निक्कै प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्न सकिएकामा उनी खुशी व्यक्त गर्दै भन्छन्, ‘निर्माण भएका पार्कको संरक्षणको जिम्मेवारी नगरपालिकाले बहन गर्छ ।’ नगर प्रमुख घिमिरेका अनुसार तिलोत्तमा नगरपालिकाले शुरु गरेको यो योजना अहिले बुटवलमा शुरु भएको र भैरहवामा समेत शुरु हन लागेको छ । उनले भने, ‘६ लेन सडक निर्माण सकिँदा तिलोत्तमा नगर क्षेत्रमा पर्ने सडक हरियाली र फूलै फूलले ढकमक्क बन्नेछ ।’ रासस

प्रकाशित समय : २३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु