global ime bank Long Banner Ad

गृहपृष्ठ ‘पर्यटन बोर्डले बुझोस्, धैर्य गर्ने समय अब टानसँग छैन’

‘पर्यटन बोर्डले बुझोस्, धैर्य गर्ने समय अब टानसँग छैन’

‘पर्यटन बोर्डले बुझोस्, धैर्य गर्ने समय अब टानसँग छैन’


गोपाल श्रेष्ठ, युवा पर्यटन व्यवसायी हुनुहुन्छ । उहाँ पर्यटन क्षेत्रको एक सफल व्यवसायी पनि हुनुहुन्छ । पर्यटन क्षेत्रलाई नजिकबाट नियाल्दै आउनुभएका श्रेष्ठ अहिले पर्यटन व्यवसायीहरुको छता संगठन ट्रेकिङ् एजेन्सी एशोसिएसन अफ नेपाल (टान)को सदस्य र प्रेस संयोजक पनि हुनुहुन्छ । उहाँसँग न्यूज कारोबारले गरेको कुराकानी :

टानमा चार महिना त बिताई सक्नुभयो । अहिलेसम्म टानमा भन्नलायक के के प्रगति भएका छन् ?
– हामीले चार महिना बिताइसक्यौं । तर, निर्वाचित हुने बित्तिकै हामीलाई कार्यकाल हस्तान्तरण गर्न ढिलाई गरियो । जसले गर्दा चार महिना लगातार काम गर्न पाएनौं । काम गर्न थालेको २ महिनामात्र भएको छ ।

बाहिर र भित्रबाट हेर्दा के फरक पाउनुभयो ? कतिको काम गर्न सजिलो छ ?
– हामी सुरुवात कै अवस्थामा छौं । हामीलाई यहाँ काम गर्न सजिलो छैन । टानभित्रको सबै समस्या र चुनौतीको सामना गर्नको खातिर नै हामी आएका छौं । तर, यसो भन्दैमा काम गर्ने सवालमा टानमा त्यस्तो धेरै समस्या पनि छैन् । तर, अहिले आर्थिक समस्या टानको शत्रु भएको छ । यसले गर्दा जसरी कामले गति लिनुपर्ने हो, त्यति हुन सकेको छैन ।

चुनावताका त निकै जोसमा आउनुभयो । टानलाई परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता पनि थियो । तर, अहिले जोस सेलाउन थालेको छ ?
– छैन छैन, कहाँ सेलाउनु ? जोसजाँगर हामीभित्र मरेको छैन र मर्न दिदैनौं । हामी रहुन्जेल टानलाई परिवर्तन गर्ने प्रयत्नमै रहिरहन्छौं । हामीले चुनाबको बेलामा जुन कुरा गरेका छौँ, ति कुरालाई हामीले अहिले व्यवहारमा ल्याउन थालेका छौं । हामीले काम नगरेको हैन । गरेको काम मिडियालाई नभनेको मात्र हो । हाम्रो आन्तरिक संयन्त्रमा काम भैरहेको छ । टानका सदस्यहरु प्रत्येक दिन टानमा पुग्छौ । पर्यटन र गृह मन्त्रालय पुगेका छौं, समस्या अवगत गराएका छौं ।

मन्त्रालयमा मन्त्रीहरुलाई बधाई दिन र खाँदा लगाईदिन जानुभएको हो, टानका समस्या समाधानका लागि होइन भन्ने छ नि ?
– हो, बधाई पनि दियौं, खाँदा पनि लगाइदियौं । यो एउटा संयोग मात्र हो । तर सँगै हामीले टानको बिषयलाई पनि गम्भीररुपमा उठाएका छौ । हाम्रो एजेण्डा र ज्ञापनपत्र नै बोकेर गएका छौं । पर्यटन व्यवसायीकै हकहित तथा त्यस सम्बन्धि आवश्यक कानुन निर्माण लगायतको बिषयमै केन्द्रित भएर छलफल गरेका छौं । त्यसरी जानुमा हाम्रो व्यक्तिगत स्वार्थ छैन ।

पर्यटन व्यवसायमा धेरै चुनौती छन् । तपाईहरुसँग पर्यटन व्यवसायीले धेरै आशा गरेका छन् । तर, तपाईहरुका गतिविधि टानमा आइयो, हेरियो, ठिकै भो भन्ने जस्तो छ नि ?
– अब यो बिषयमा चाहिँ तपाईले कसरी मुल्याङ्कन गर्नुभयो ? यो अवधिमा हामीले उल्लेख्य काम गरेका छौं । हामीले पर्यटन बोर्डको सिइओसँग छलफल गरिसकेका छौं । टिम्सको बिषयमा प्रमुख मुद्दामा छलफल गरेका छौं । नेपालमा पदयात्रा व्यवसायीलाई ट्याक्स, भ्याट महँगो छ । त्यसको बिषयामा छलफल गरेका छौं । हामीले खच्चरको भ्याट, मान्छेलाई भारी बोकाएको भ्याट तिर्नुपर्छ । हामी व्यवसायीहरुले तिरेको प्यानको रसिद पनि पाउदैनौं । यसको बिषयमा पनि छलफल गरेका छौं । राजस्व कार्यलयमा पनि हामीले हाम्रो कुरा पुर्याएका छौ ।

ट्रेकिङ्ग एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का सदस्य तथा प्रेस संयोजक गोपाल श्रेष्ठसँग गरिएको भिडियो कुराकानी :

 

अघिल्लो कार्यसमितीले पनि टिम्सको कुरा गरेरै आफ्नो कार्यकाल बितायो । तपाईहरुको पनि छाँटकाँट त्यस्तै छ । यसमा समस्या चाहिँ के छ ?
– यो बिषयलाई छिटै समाधान गर्ने रफ्तारमा छौं । टानको काम अरु पनि अनगिन्ती छ, हामी यही बिषयमा मात्र बढी समय खेर फाल्न चाहन्नौं । पर्यटन बोर्ड आफ्नो नियम अनुसार चलेको छैन । अहिले टानले पाउनुपर्ने ४० प्रतिशत नियममै प्रष्ट छ, तर, दिएको छैन । हामीले यसलाई सरकारको ट्याक्स, भ्याटमा त ल्यायौ, तर टिम्स र टानलाई हामीले बेवास्था गरिरह्यौं । टान भनेको टिम्सकै बिषयमा बोल्ने पनि हो ।

तपाईहरु साँच्चै गम्भीररुपमा लाग्नुभएको हो भने व्ययसायीलाई भन्दिनुस्, यो छिट्टै भनेको कहिलेसम्म हो ? मजदुरले कहिलेसम्म कुर्ने ?
– मजदुरको ५०—५५ वटा फाइलहरु रोकिएर टानमा बसेका छन् । त्यो मजदुरहरुको फाइल किन रोकिएको छ ? त्यो हाम्रो कारणले होइन । पर्यटन बोर्डले फन्ड रिलिज गर्न सक्थ्यो, टिम्सको फन्डबाट रिलिज हुनुपथ्र्यों, मजदुरहरुको लागि जुन रकम दिनु पर्दथ्यो । मान्छे मरिरहेका छन्, भरियाहरुको पनि ज्यान गइरहेको छ । त्यसको सुरक्षाको लागि पनि त टिम्स हो नि । हामीले पर्यटन बोर्डको डाइरेक्टरसँग बस्दा के भनेका छौँ भने मजदुरले पाउने रकम हामीलाई दिनुपरेन, मात्र टानको रोहवरमा मजदुुरको व्यक्तिगत खातामा पठाई दिँदा हुन्छ भनेका छौं । यदि ति बिषयमा सङ्का भए छानबिन गरौं भनेका छौं । तर, रोकिएको छ किन ? यो पर्यटन बोर्डले भन्दिनु पर्छ । समस्या के हो । यो बिषय हाम्रो दृष्टि कोणबाट भन्दा सरल छ तर, पर्यटन बोर्डले किन यस्तो गरिरहेको छ । यो एकदम गलत छ । अहिलेको अवस्थामा टानलाई हेलिकप्टर कम्पनीले नपत्याउने अवस्था छ । उता पर्यटन बोर्डमा भने तलब खाने बाहेकको काम हुन सकेको छैन ।

टिम्सको रकम कहिलेसम्म ल्याउनु हुन्छ ?
– अघिल्लो बैठकमा भनिसकेका छौं कि अब २—३ महिनामा यो बिषयले हल पाएन भने टानले त्यसको विकल्प सोच्नुपर्छ । अब हामी टिम्सको बिषयमा धेरै झुलेर बस्दैनौं । यसको विकल्पमा जान्छौं । किनभने हामी टिम्सको बिषयको लागि मात्र हैनौं । हामीले धेरै कुरा गर्नुपर्छ । छिट्टै यो बिषयको टुङ्गो लागेन भने हामीसँग भएको सबै मजदुर लिएर पर्यटन बोर्ड घेर्न जान्छौं, मजदुरको साथमा मिटिङ्ग बस्छौं र त्यहीबाट एउटा समाधान निकाल्छौं ।

मजदुरहरुको पनि तपाईहरुमाथि आरोप छ नि । टान हाम्रो बिषयमा गम्भीर भएन भन्छन् ? पर्यटन बोर्डसँग कुटेजस्तो र रोएजस्तो सम्बन्ध बनाएर आलटाल गरिरहनु भएको गुनासो छ नि ?
– यदि हामी टिम्सको बिषयमा गम्भीर नभएको भए किन हामी बारम्बार यो बिषयलाई छलफल र बहसको बिषय बनाउछौं । म आफै टानको मिडिया कोडिनेटर मैले पनि जति कुरा गर्छु सधैं टिम्सको बिषयमा नै गरेको हुन्छु भने पछि हामी कहाँ मानेनौं ? टिम्सलाई हामीले एक नम्बरमा राखेर छलफल गरेको छौं । यदि नपाउने हो भने किन ? बेरुजु छ भने कहाँनेर छ ? त्यो पनि पर्यटन बोर्डले भन्नुपर्यो । हामीले हैन, पर्यटन बोर्डले रोकेको छ ।

टिम्सको बिषयलाई राजनीतिकरण गरिएको हो ? मजदुर र पर्यटन व्यवसायी मार्ने राजनीति त हुँदैन होला ? के कारणले पर्यटन बोर्डले झुलाइरहेको हो ?
– टानमा राजनीति केही पनि छैन । हामीलाई के कुरा चाहीँ गाह्रो भैरहेको छ भने हामी नयाँ छौं । हामीलाई सबै कुरा थाहा छैन । जे बिषय थाहा पाउनको लागि पनि समय लाग्छ । तर, यो बिषयमा त पर्यटन बोर्डलाई त सबै कुरा थाहा छ । हामीले पटक–पटक भनेको छौँ, छलफल गरौं भनेर तर किन उहाँहरु मानिरहनु भएको छैन । समस्या हामीमा हैन पर्यटन बोर्डमा छ । किनभने हामी यो टिम्सको बिषयमा धेरै अल्झिएर बस्नु उचित ठानेको छैनौं । हामी सबैभन्दा पहिले मजदुरको फन्ड रिलिज होस् भन्ने चाहान्छौं । किनभने यसले गर्दा पर्यटन प्रवद्र्धनमा पनि समस्या आएको छ । टिम्सकै माध्यमबाट प्रचारप्रसार गर्ने हो, त्यो गर्न पनि सकिएको छैन ।

टानमा गएपछि पर्यटन प्रवद्र्धनको कस्तो योजना बनाउनुभएको छ ?
– समस्याहरु पनि धेरै छन् । हाम्रो योजना पनि छ । हाम्रो १६ वटा विभाग छ, ति विभागले आ–आफ्नै काम र योजनामा लागेको छ । विभागीय जिम्मेवारी अनुसार हामी अघि बढिरहेका छौं । टानको सक्रियतामा ठमेल सरसफाई अभियान चलायौं । अब उपत्यकाका सबै पर्यटकीय ठाँउमा गर्छौ । उपत्यकाभन्दा बाहिर पनि जान्छौं । अहिले तत्कालको लागि हामीले लाङ्टाङ म्याराथन आयोजनालाई निरन्तरता दिदैछौं । यहि अप्रिलमा यो प्रोगाम गर्दैछौं । नीतिगतरुपमा पनि हामीले धेरै कुरा गर्नुछ । स्थानीय तहले केन्द्र सरकारले गरेको सबै काम आफुले लिएको छ र टिम्सलाई छिर्न नदिएको अवस्था छ । सबैकुरा स्थानीय सरकारले गर्ने गरेको छ । ति कुराहरुको बिषयमा पनि टानले छलफल तथा नीतिनियम बनाएर स्थानीय सरकारसँग समन्वय गरेर जानुपर्नेछ ।

पर्यटन क्षेत्रमा १५–१६ बर्ष भयो सक्रिय हुनुहुन्छ । नेपालको प्रर्यटन प्रवद्र्धनमा के के चुनौती देख्नुहुन्छ ?
– नेपालको पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठुलो चुनौती भनेको पूर्वाधार विकास नै हो । सरकारले ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, तर सरकार त्यसको आधार तयार गर्न लाग्दैन । हाम्रो वातावरण स्वच्छ हुनुपर्यो । हाम्रो नीति नियमहरु व्यवहारिक हुनुपर्यो । हाम्रोमा कति पर्यटक राख्न सक्छौं भन्ने कुराको तथ्याङ्कसम्म छैन । नेपालमा पर्यटकहरु सुरक्षित छन् कि छैनन् । पर्यटकलाई शुल्क कति लिने व्यवसायीहरुलाई ट्याक्स, भ्याटको सन्दर्भमा पनि अलिक अव्यवहारिक छ । पर्यटन व्यवसायीका बिचमा पनि अस्वस्थ प्रतिस्पर्धा छ । यी सबै कुराको सुधार गरिनुपर्छ । त्यसमा पनि एयरपोर्टदेखिकै आचरणमा सुधार ल्याउनु जरुरी छ । अब कुरा गर्ने हैन काम गर्ने समय हो यो । हामी काममा विश्वास गर्छौ र त्यसै अनुरुप अघि बढ्छौं ।

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु