global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एउटा नेपालीको टाउकोमा २८ हजार ऋणको भार

एउटा नेपालीको टाउकोमा २८ हजार ऋणको भार

एउटा नेपालीको टाउकोमा २८ हजार ऋणको भार

सरकारको कुल ऋण ८ खर्ब ३० अर्ब ९८ करोड ३७ लाख पुगेको छ । सरकारले लिएको ऋणलाई प्रतिनेपाली भाग लगाउने हो भने एक जनाको टाउकोमा हाल २८ हजार ३६८ रुपैयाँ ऋण पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा एक जना नेपालीको नाममा २१ हजार ९६४ रुपैयाँ ऋणभार थियो ।

अघिल्लो आर्थिक वर्षको पुसदेखि यस आर्थिक वर्षको पुससम्म राष्ट्रिय ऋण एक खर्ब ९६ अर्बले बढेका कारण हाल प्रतिव्यक्ति नेपालीलाई ६ हजार चार सयले ऋण भार थपिएको हो । सरकारले वैदेशिक र आन्तरिक ऋण दिएको रकमलाई केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको नेपाली जनसंख्याको आधारमा सो हिसाब निकालिएको हो ।

सन् २०१८ मा नेपालको कुल जनसंख्या २ करोड ९२ लाख ९१ हजार ७४६ जना रहने अनुमान विभागले गरेको छ । गत वर्ष सन् २०१७ मा नेपालको कुल जनसंख्या दुई करोड ८८ लाख ७९ हजार ६३६ जना रहने विभागको तथ्यांक छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष चालू आवको समीक्षा अवधिमा सरकारले लिएको ऋणमध्ये ४ खर्ब ३६ अर्ब ४८ करोड वैदेशिक ऋण हो ।

सरकारले विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, ट्रजरी बिल, वैदेशिक रोजगारपत्र मार्फत एक वर्षको अवधिमा तीन खर्ब ९४ अर्ब ४९ करोड आन्तरिक ऋण उठाएको छ । पुस मसान्तसम्म तीन खर्ब ९५ अर्ब २९ करोड बहुपक्षीय वैदेशिक ऋण र ४१ अर्ब १९ करोड द्विपक्षीय ऋण रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बताए ।

गत आवमा सरकारले लिएको ऋणमध्ये ४ खर्ब १ अर्ब ९८ करोड वैदेशिक ऋण हो भने २ खर्ब ३२ अर्ब ३२ करोड आन्तरिक ऋण हो । गत वर्ष लिएको ऋणमध्ये ३ खर्ब ६४ अर्ब बहुपक्षीय र ३७ अर्ब ९४ करोड द्विपक्षीय ऋण हो । सरकारले गएको आर्थिक वर्षमै प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋणको भार घट्ने अनुमान गरे पनि साँवा–ब्याज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो ।

अझ आगामी वर्ष खर्चका स्रोतहरू बढेकाले यो ऋण अझै बढ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । सरकारले आगामी आवका लागि आन्तरिक र बाह्य दुवै ऋण बढाउने तयारी गरेको छ । सरकारले चालू आवको लागि २ खर्ब १४ अर्ब वैदेशिक ऋण लिने योजना बनाएको छ । आगामी वर्ष यो ऋण अंकमा ६५ अर्ब रुपैयाँले थपेर २ खर्ब ८० अर्ब वैदेशिक ऋण उठाउने गृहकार्य गर्दैछ । त्यसरी नै हालको १ खर्ब ४५ अर्ब आन्तरिक ऋणमा पनि ८ अर्ब थपेर एक खर्ब ५३ अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य लिएको छ ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु