global ime bank Long Banner Ad

गृहपृष्ठ माथिल्लो तामाकोसीको ९४ प्रतिशत काम सकियो, मंसिरदेखि बिजुली बल्ने

माथिल्लो तामाकोसीको ९४ प्रतिशत काम सकियो, मंसिरदेखि बिजुली बल्ने

माथिल्लो तामाकोसीको ९४ प्रतिशत काम सकियो, मंसिरदेखि बिजुली बल्ने


काठमाडौं । आगामी मंसिरदेखि माथिल्लो तामाकोसीको बिजुली बाल्न पाइने भएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत उत्पादन गरेर मंसिर अन्तसम्म राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको ९४ प्रतिशत काम सम्पन्न भैसकेको छ । तामाकोसीको काम सकिन अब ६ प्रतिशत मात्र बाँकी छ ।
आयोजनाको काम अब अन्तिम चरणमा पुगेको छ । ६ प्रतिशत मात्र काम बाँकी भएपनि आयोजनाबाट आउदो मंसिर अन्तिमसम्ममा मात्र बिजुली उत्पादन गर्ने प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए । आगामी डिसेम्बर १८ सम्म पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुने कार्यतालिका तय भएको उनले जानकारी दिए । आउदो असार अन्तिमसम्म आयोजनाको ५ मध्ये १ युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो ।
मंसिरसम्म आयोजनाको सबै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा विभिन्न कारणले प्रभावित भएको छ । ०७५ सालभित्र माथिल्लो तामाकोसीको काम सम्पन्न हुने देखिएको छ । हाल मुहान, बाँध, सुरुङ, प्रसारणलाइन र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल गरी ४ वटै लटको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । हाइड्रोमेकानिकलको कामले पनि अहिले गति लिएको छ । प्रसारणलाइन अन्तरगत ४ वटा टावरको संरचना निर्माण गर्न बाँकी रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृह गौंगरबाट २२० केभी क्षमताको प्रसारण लाइनबाट न्युखिम्ती जोडिने छ ।
आयोजनाको काम ९४ प्रतिशत सकिदा ३६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजना निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । निर्माण अवधिको ब्याज मात्रै ६ अर्ब रुपैयाँ बढी हुने छ । आयोजनाको गत मंसिर ४ गते छेडिएको थियो । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुनेछ ।

आइपीओ चैतभित्रै
माथिल्लो तामाकोसीको साधारण सेयर (आइपीओ) आउदो चैतभित्रै आउने भएको छ । आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । प्रवद्र्धक अपरतामाकोसीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
जिल्ला समन्वय समितिबाट आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने समहमति भएको छ । दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर भर्न पाउने भएका छन् । स्थानीयबासीलाई निष्कासन गरिसकेको सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन हुनेछ ।
पहिलो चरणमा सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुनेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु