गृहपृष्ठ त्रिकोण क्यानभासमा उतारियो सिन्धुली कला घर
त्रिकोण क्यानभासमा उतारियो सिन्धुली कला घर
वागमती । नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियानका साथ यात्रारत प्राज्ञ नगेन सिंह ठकुरीले वागमती प्रदेश, सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कला संग्रहालय (सिन्धुली कला घर)लाई क्यानभासमा उतारेको छ ।
स्थलगत रुपमा नै सिन्धुली कला घर पुगेका ठकुरीले कला घरलाई आफ्नो त्रिकोण क्यानभासमा उतारेको हो । सिन्धुली कला घरलाई क्यानभासमा उतार्दै उनले भने, “सिन्धुली कला घर अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पु-याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।”
कला घरमा आयोजित कार्यक्रममा कला शिक्षक सुरज श्रेष्ठ, नृत्य शिक्षक गौरव श्रेष्ठ र सिन्धुली कला घरका परिकल्पनाकार एवम् अध्यक्ष सुमन थापा मगरलगायत स्थानीयको उपस्थिति थियो । त्यस अवसरमा स्थानीयहरूले सिन्धुलीको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचना सम्बन्धमा जानकारी गराएको थियो ।
क्यानभासमा उतारिएको सिन्धुली कला घर विश्व मञ्चमा चिनिनेमा स्थानीयले विश्वास व्यक्त गरे । सिन्धुली कला घरका परिकल्पनाकार थापाले प्राज्ञ सिंहले ७७ वटै जिल्लाका धार्मिक तथा ऐतिहासिक चित्रहरु प्रत्यक्ष कोर्दै विभिन्न भाषाहरुमा अनुवाद गरी विद्यालयको पाठ्यक्रममा प्रकाशन गर्ने उद्देश्यका साथ गरेको कला यात्राको सफलताको कामना गरे ।
सिन्धुलीबाट देखिने विभिन्न जिल्लासँगै गौरीशंकर हिमालको अद्भुत सौन्दर्य विश्वभर फैलिनु नै कला घरकै ठूलो उपलब्धि भएको उनले जानकारी गराए ।
यस अघि ठकुरीले लुम्बिनी, सगरमाथादेखि पशुपतिनाथ, मुक्तिनाथ तथा राष्ट्रिय निकुञ्जसम्मका थुप्रै सम्पदाहरू विश्वसामु कलामार्फत चिनाइसकेको छ । ७७ वटै जिल्लाका कम्तीमा तीन÷तीन वटा धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेर ‘नेपाल कला यात्रा’ पुस्तकको दोस्रो संस्करण तयारी गरिएको ठकुरीले जानकारी दिए ।
उक्त कृतिलाई एक सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा पठाइने बताउँदै यसै अभियानमार्फत २०८७ सालसम्म एक करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए ।
विसं २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासदस्य समेत भइसकेका ठकुरी लामो समयदेखि कला सिर्जना तथा प्रर्वद्धनमा सक्रिय छन् । उनले हालसम्म डेढ सयभन्दा धेरै सम्पदा स्थल क्यानभासमा चित्रण गरिसकेको छ । स्वर्ण पदक, अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत अन्य धेरै सम्मान प्राप्त गरिसकेका २०८० वैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीले पनि सम्मानित बनेको थियो ।
प्रकाशित समय : ०६:११ बजे



















