काठमाडौं । विश्व पर्वतारोहण समुदायलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित सगरमाथा आरोही शिखर सम्मेलन (एभरेस्ट समिटर्स समिट–ईएसएस) २०२६ मा प्रख्यात नेपाली पर्वतारोही कामी रिता शेर्पा र चिनियाँ पर्वतारोही हे जिङ सम्मानित भएका छन्।

काठमाडौंस्थित सोल्टी होटलमा दुई दिनसम्म आयोजित सम्मेलनमा कामी रिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने हे जिङलाई पूरक अक्सिजनको प्रयोग नगरी ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल आरोहण गर्ने पहिलो महिलाका रूपमा विशेष सम्मान गरिएको छ ।

‘हिमालयको भविष्यका लागि आवाजहरू एकताबद्ध गर्दै’ भन्ने मूल नारासहित एभरेस्ट एलायन्स नेपालद्वारा आयोजित सम्मेलनले सगरमाथा सप्ताहको अवसरमा पर्वतारोही, सरकारी अधिकारी, पर्यटन क्षेत्रका प्रतिनिधि, वातावरणविद् तथा विकास साझेदारहरूलाई एकै स्थानमा जुटाएको थियो। कार्यक्रममा जलवायु परिवर्तन, पर्वतीय सुरक्षा, हिमाली समुदायको भविष्य र दिगो पर्वतारोहणबारे गहन छलफल गरिएको थियो।

मे २६ मा दीप प्रज्वलन, स्वागत रात्रिभोज तथा सहभागी पर्वतारोहीहरूलाई पदक वितरणसँगै सुरु भएको सम्मेलनको मुख्य कार्यक्रम मे २७ मा सम्पन्न भएको थियो। सो दिन सगरमाथा आरोहीहरूका लागि आयोजित राष्ट्रपतिको विशेष नास्ता कार्यक्रमपछि हिमालयन संस्कृति, हस्तकला तथा फोटोग्राफी प्रदर्शनीसमेत आयोजना गरिएको थियो।

सम्मेलनमा उच्च हिमाली अभियानका लागि दिगो तथा उच्च गुणस्तरका उपकरण विकास गरेको योगदानका लागि बाह्य साहसिक सामग्री निर्माता कम्पनी पेलियटलाई पनि सम्मान गरिएको थियो। साथै, पर्वतीय सुरक्षा र अभियान सहयोगका क्षेत्रमा भविष्यमा सहकार्य गर्ने उद्देश्यले एभरेस्ट एलायन्स नेपाल र पेलियटबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

कार्यक्रमका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको नेतृत्वमा पर्वतारोहीहरूको औपचारिक शपथ ग्रहण समारोहसमेत सम्पन्न भएको थियो।

सम्मेलनमा विभिन्न विषयमा केन्द्रित तीनवटा विशेष प्यानल छलफल आयोजना गरिएको थियो। पर्वतारोहणमा महिलाको सहभागिता, सुरक्षा र प्रतिनिधित्वबारे केन्द्रित पहिलो सत्रमा जुलिया ह्यामिल्टन, एलेसेन्ड्रा पेपर, लाक्पा फुटी शेर्पा र एड्रियाना ब्राउनलीले आफ्ना अनुभव साझा गरेका थिए। उक्त छलफलको सञ्चालन पत्रकार तथा पर्वतारोहण विशेषज्ञ बिली बिअरलिङले गरेकी थिइन्।

जोखिम र लचिलोपन विषयक दोस्रो सत्रमा नथानिएल डगलस, नासुह माहुरुकी, अर्जुन वाजपेयी, शेहरोज काशिफ र गेल्जे शेर्पाले आधुनिक पर्वतारोहणका चुनौती, उद्धार अभियान र पर्वतारोहीहरूको जिम्मेवारीबारे धारणा राखेका थिए।

त्यसैगरी ‘माउन्टेन इकोसिस्टमका लागि स्केलिङ क्लाइमेट फाइनान्स’ शीर्षकको तेस्रो प्यानलमा डब्लुडब्लुएफ, आइसीमोड, जेडएसएल, आइयूसीएन तथा एनटीएनसीका प्रतिनिधिहरूले हिन्दुकुश–हिमालय क्षेत्रमा जलवायु वित्त, जैविक संरक्षण तथा समुदायको उत्थानशीलताबारे छलफल गरेका थिए।

सम्मेलनका क्रममा सगरमाथा उद्धार टोलीलाई सहयोग पु¥याएको योगदानका लागि ते गण्डकी अल्पाइन क्लब र पीक एक्सभी ट्रेड प्रालिलाई समेत सम्मान गरिएको थियो।

समापन समारोहमा एभरेस्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले नेपाललाई दिगो पर्वतारोहण, हिमालय संरक्षण तथा जलवायु उत्थानशीलतासम्बन्धी विश्वव्यापी संवादको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको बताए। उनका अनुसार उपलब्धि, संरक्षण र नीतिगत बहसलाई एउटै मञ्चमा जोड्ने प्लेटफर्मका रूपमा सम्मेलनलाई आगामी वर्षहरूमा अझ व्यापक बनाइनेछ।