काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सगरमाथा जितेका दावा क्यान्सरसँग लड्दै

15.9K
shares

काठमाडौं- हिउँसँग पौठेजोरी खेल्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सातपटक पाइला राखेका दावाछिरी शेर्पा अहिले अस्पतालमा छन् । जावलाखेलको नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरको २०१ नम्बर क्याबिनमा उनी क्यान्सरसँग लडिरहेका छन् ।
मकालु हिमाल आरोहणका लागि पुगेका बेला आधार शिविरमा एक्कासि बिरामी परेपछि उनलाई अस्पताल ल्याइएको थियो । चार दिनदेखि उनी अस्पतालमा उपचारार्थ छन् । अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदनकुमार पिया उनको उपचारमा सक्रिय छन् । ५१ वर्षीय दावाछिरीलाई पेट र कलेजोको क्यान्सर छ ।

लोखिम–९ कुरिमागाउँ सोलुखुम्बुका दावाछिरी सन् १९९५ देखि हिमाल आरोहणमा लागेका थिए । उनले पाकिस्तानको केटु हिमाल, धवलागिरी चारपटक, मनास्लु पाँचपटक, चोयु हिमाल ६ पटक, सिसापांग्माको चारपटक सफल आरोहण गरिसकेका छन् ।
मकालु हिमाल चारपटक सफल आरोहण गरिसकेका दावाछिरी पाँचौंपटकको आरोहणका लागि स्विडेनका पर्यटक लिएर गत २ मार्चमा आधार शिविर पुगेका थिए । एउटा एजेन्सीको तर्फबाट उनी मकालु आरोहणमा गएका बेला बिरामी परेपछि १६ मार्चमा हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको त्यस एजेन्सीका सञ्चालक दावाग्याल्जेन शेर्पाले बताए ।

‘आधार शिविर ‘मनास्लु एबीसी’मा पुगेपछि उहाँ बिरामी पर्नुभयो, पेट दुख्न थालेपछि आकस्मिक उद्धार गरी हेलिकोप्टरबाट १६ मार्चमा काठमाडौंमा ल्याइयो,’ उनले भने, ‘एक÷डेढ महिना प्राथमिक उपचार गरे पनि रोग पत्ता लागेको थिएन अहिले रोग पत्ता लागेपछि अस्पतालमा हुनुहुन्छ ।’ विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गरेर पछिल्लोपटक बायोप्सी र सिटिस्क्यान गरेपछि मात्रै उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।
सोमबार भर्ना गरेपछि उपचारको काम भएको क्यान्सर विशेषज्ञ डा. पियाले बताए ।

पटकपटक हिमाल आरोहणका क्रममा समयमा खाना नखाँदा पेटमा ग्यास्ट्रिक भएर अल्सर र त्यही विकसित भएर क्यान्सर भएको हुन सक्ने डा. पियाले बताए । उनका अनुसार पेटको क्यान्सर कलेजोसम्म फैलिएर उनी कमजोर भएकाले हाललाई साधारण उपचार गरिएको छ ।
क्यान्सरपीडित दावाछिरीले भने, ‘हिमाल चढ्दा प्रायः भोकभोकै बसेको नतिजा अहिले क्यान्सरसम्म पुग्यो ।’ उनले तङ्ग्रिएर फेरि हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन् । दावाले भने, ‘म त क्यान्सरबाट थलिएँ, अङ ट्रेकिङ गाइड साथीहरू भोकभोकै बस्दा उनीहरूलाई मेरोजस्तो क्यान्सर नहोस् ।’ उनकी पत्नी पेमादिकी शेर्पाले सातपटक सगरमाथाको सफल आरोहण गरी देशको नाम अन्तर्राष्ट्रिय जगत्मा उँचो राखे पनि पतिलाई सरकारका तर्फबाट ध्यान नदिएको  गुनासो गरिन् ।