Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

भूकम्पका कारण निर्मित गुन्सालको सामूहिक वस्ती

न्युज कारोबार काठमाडौं असार १८, २०७५       

भूकम्पका कारण निर्मित गुन्सालको सामूहिक वस्ती
वि.सं. २०७२ वैशाख १२ नेपालीहरुको लागी एक अकल्पनीय दिन बन्यो । वैशाख १२ गते गएको भूकम्पले देशभर जनजीवन प्रभावित बनायो । वैशाख १२ को भूकम्पका कारण लगातार रुपम परकम्पहरु गए । छिटफुट रुपमा अहिले सम्म पनि परकम्पहरु गइरहेका छन् । खासगरी वैशाख १३ गते र २९ गते ठूला परकम्पहरु गए । उक्त भूकम्पका कारण नेपालको मध्य क्षेत्रको १४ जिल्ला सबैभन्दा बढी पीडित र आहतमा परे । जस मध्ये रामेछाप जिल्ला पनि एक हो । भूकम्पले धेरैको मन चुँडायो । धेरैलाई घरबारबिहीन बनायो । भूकम्पले लगाएका यस्ता धेरै घाउहरु अझै बाँकी छन्, जसको दुःखाई कायमै छ । धेरै विनास र क्षति गरेको भूकम्पले हामीलाई ठूलो शिक्षा दिएको छ । सामूहिक भावनाको विकास गर्न सायद उक्त भूकम्पले हामीलाई झक् झक्याइरहन्छ । भूकम्पले समस्या संगै केहि सामाजिक रुपमा राम्रो संस्कार सिकाएको पनि छ । रामेछापको दोरम्बा पनि भूकम्पका कारण प्रताडित हुन पुगेको गाँउ हो । दोरम्बा गाउँपालिका वडा नम्बर ५ गुन्सालका ३५ घरलाई भूकम्पले भग्नावशेषमा परिणत गरिदिएको थियो । मनमोहक र सुन्दर गाँउ गुन्साल एकै झड्कामा भग्नावशेषमा परिणत हुँदा के युवा के वृद्ध के बालबालिका सबैमा एक किसिमको सन्नाटा छायो । [caption id="attachment_62075" align="alignnone" width="1000"] निर्माणाधीन भवन[/caption] कसैले पनि टार्न नसक्ने अकल्पनीय प्राकृतिक विपत्तिको सिकार बनेको गुन्साल सबैको एकीकृत प्रयान नभई उठ्नै नसक्ने गरी थलियो । यसलाई बुझेर युवाहरुले स्थापना गरेको सामाजिक संस्थामार्फत एकीकृत रुपमा गतिविधिलाई सकृय बनाउँने निधो गरे र त्यसै अनुरुपको योजनामा लागे । योजना निर्माण भएसँगै ‘सेती देवि जनजागृति युवा समाज’को काँधमा आफ्नो गाउँलाई पुनर्जीवन प्रदान गर्ने जिम्मेवारी आयो । एकातर्फ पुरै गाँउ क्षत विक्षत भएको र अर्कातर्फ आर्थिक अभावको अवस्थामा गाउँलाई पुनः उठाउनु पर्ने दायित्व काँधमा आउँदाको भयावह अवस्था सम्झँदा युवा समाजका सचिव प्रज्वल श्रेष्ठका आँखा आज पनि रसाउँछन् । तर पनि युवा समाजले हिम्मत हारेन । विपदको समयमा सान्त्वना दिने र पुनःनिर्माणमा जुट्ने दोहोरो दायित्व बोकेकाले स्थानीयले पनि युवाको प्रयासलाई साथ र समर्थन गरे । गुन्सालमा रहेको ३५ घरलाई नमुना बस्ति बानाउन लागी ३ करोड पचास लाख लाग्ने अनुमान छ । ‘सबै पैसा स्थानीयको सहयोग र साथमा जम्मा गर्न गाह्रो छ’ श्रेष्ठ भन्छन्, ‘जिल्ला प्रसाशन कार्यलय र दोरम्बा गाँउपालिकासँग कुरा भइरहेको छ ।’ साथै अन्य सहयोगी मनहरुमा पनि अपिल गरीरहेको श्रेष्ठ बताउँछन् । गाउँपालिकाबाट सहयोगको आश्वासन पाएको श्रेष्ठले जानकारी दिए । नमुना बस्ती सिलन्यास पनि भइसकेको छ । बैशाख १३ गते प्रमुख जिलला अधिकारी र दोरम्बा गाँउपालिका प्रमुखको आतिथ्यतामा शिलन्यास गरी निर्माण सुरु गरेको बस्ति रामेछाप जिल्लाकै पहिलो नमुना बस्तिको रुपमा निर्माण हुँदै छ । वस्ती पुर्णरुपमा बालमैत्री, अपागंमैत्री संरचनामा निर्माण गरिने श्रेष्ठले बताए । ‘हामीले चार वटा दशैँ घरभित्र बसेर मनाउन पाएको छैनौं’ श्रेष्ठ आत्मविश्वासका साथ भन्छन्, ‘यो दशैँ नयाँ घरमा बसेर मनाउने योजनाका साथ काम गरी रहेको छौं ।’ ‘यसपटकको दशैँ नयाँ घरमा बसेर मनाउने हो’ भनिरहँदा श्रेष्ठको मुहारमा बेग्लै चमक देखिन्छ । आफ्नो गाँउको पूनःनिर्माणले गति लिँदै गर्दा उनीहरुको मनमा विगतको कहालीलाग्दो घटना अझै मेटिइसकेको भने छैन । ‘अब हाम्रो बस्ति भुकम्पले भत्किँदैन, हामी अब घरबारबिहीन हुनु पर्दैन’ भनिरहँदा स्थानीयको अनुहारमा अत्यासलाग्दो विगत पढ्न पाइन्छ । के भन्छन् गाँउपालिका अध्यक्ष ? दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानशिंह मोक्तान नमुना वस्ती निर्माण सुरु हुनलाई जिल्लाकै राम्रो कामको रुपमा अथ्र्याउँछन् । अध्यक्ष मोक्तानले यस कार्यमा सबै प्रकारको सहयोगका लागि गाउँपालिका तयार रहेको बताए । गुन्सालमा मात्र नभई अरु ठाउँमा पनि यस्तो वस्ती विकास हुनु आवश्यक रहेको उनले बताए । अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाले सबै वडामा यस्तो वस्ती विकास गर्ने तयारी गरेको छ । उनका अनुसार यो पहिलो कदम हो । पहिलो कदम भएकाले गुन्सालको वस्ती निर्माणमा प्रत्यक्ष निगरानी गरिरहेको उनले बताए । ‘हामीले असार भित्र डिपिसी र मंसिर भित्र सबै काम सम्पन्न गर्नू भनेका छौं’ अध्यक्ष मोक्तानले भने, ‘सामुहिक वस्तीमा ३५ घर बन्ने छ ।’ सामूहिक वस्तीको अबधारणलाई अंगिकार गर्दै अगाडि बढ्ने र समाजमा सहिणुता निर्माण गर्ने सम्पूर्ण गुन्सालका युवाहरुलाई उनले धन्यवाद दिए ।

सम्बन्धित खबरहरु