गृहपृष्ठ अमेरिकी घोषणालाई चीनको प्रत्युत्तर
अमेरिकी घोषणालाई चीनको प्रत्युत्तर
चीनले ५० अर्ब डलर मुल्य बराबरको अमेरिकी उत्पादनमा अतिरिक्त शुल्क लगाएको छ । चीनले अमेरिकी उत्पादनमा अतिरिक्त शुल्क लगाएपछि विश्व अर्थतन्त्रका दुई ठूला शक्तिहरु ‘व्यापार वार’ तर्फ अग्रसर भएको जस्तो देखिन्छ ।
शुक्रबार अमेरिकाले चीनद्वारा उत्पादित ५० अर्ब डलर मूल्य बराबरको सामानमा २५ प्रतिशत आयात शुल्क लगाएको थियो । त्यसको केही समय पनि वित्न नपाउँदै चीनले अमेरिकाको सोही मूल्य बरारको सामानमा अतिरिक्त शुल्क लगाएको छ । यसले दुई ठूला अर्थतन्त्र भएका मुलुकको व्यापार प्रभावित हुने देखिन्छ । चीनले ६ सय ५९ अमेरिकी उत्पादनको सूची बनाएको छ जसमा उसले २५ प्रतिशत आयात शुल्क लगाउने छ ।
चिनिया समाचार एजेन्सी सिन्ह्वाले भनेको छ अमेरिकाको ५० अर्ब डलर मूल्यको ६५९ उत्पादनमा २५ प्रतिशत शुल्क लाग्ने छ । कृषि, वाहन र जलसँग सम्बन्धित ५४५ अमेरिकी उत्पादनमा ३४ अर्ब डलर बराबरका उत्पादनमा चीनले जुलाइदेखि शुल्क लगाउने छ । त्यसै गरी रसायन, चिकित्सा उपकरण तथा ऊर्जा क्षेत्रका थप १ सय १४ अमेरिकी उत्पादनमा पनि चीनले अतिरिक्त शुल्क लगाउने भएको छ ।
अर्थतन्त्रका दुई महारथीहरुबीचमा देखिएको व्यापार टकरावले विश्वभरको अर्थतन्त्रलाई प्रभावित पार्न सक्ने पनि अनुमान गरिएको छ । पछिल्लो महिना यी दुई राष्ट्रहरुले ‘व्यापार वार’ तर्फ नजाने सहमति जनाएका थिए । तर, शुक्रबार अमेरिकाले चिनियाँ उत्पादनमा आयात शुल्क लगाउने घोषणा गरेपछि चीनले समेत अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने भएको छ ।
प्रकाशित समय : १६:५१ बजे




















