गृहपृष्ठ कुलमानले भने, ‘उद्योगीले मागेजति विजुली दिन तयार छौँ’
कुलमानले भने, ‘उद्योगीले मागेजति विजुली दिन तयार छौँ’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगिहरुलाई आवश्यक परेजति विजुली दिन सकिने बताएका छन् । आइतबार काठमाडौँमा विशेष आर्थिक क्षेत्र (सेज), नेपाल आर्थिक पत्रकार समाज (सेजन) र युके एडको संयुक्त कार्यक्रममा घिसिङले उद्योगहरु नियमित रुपमा संचालन गर्न आवश्यक विद्युत उपलब्ध गराउन सरकार सक्षम भइसकेको बताएका हुन् । ‘मुलुकको आर्थिक समृद्धिका लागि उद्योग सञ्चालनमा आउनुपर्छ, त्यसले रोजगारी सिर्जना गर्छ, उत्पादकत्व बढाउँछ ।’ उनले भने, ‘तर विगतमाजस्तो विजुली अभावमा अब उद्योगहरु बन्द गर्नुपर्ने स्थिति झेल्नुपर्ने अवस्था छैन ।’

उनका अनुसार प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने काम अन्तिम चरणमा पुर्याएको छ । सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा आपूर्ति गर्दै आएकोभन्दा डबल सर्किट प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत दिने उनको भनाइ छ । कुलमानले उद्योगीले मागेजति विजुली दिन प्राधिकरण सक्षम रहेको बताएलगत्तै उद्योगीहरुले उनको अभिव्यक्तिको स्वागत गरे ।
नेपाल उद्योग परी संघका अध्यक्ष हरिभक्त शर्माले सरकारले उद्योगमैत्री वातावरण बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले प्राधिकरणमा कुलमानले गरेका राम्रा कामको प्रशंसा पनि गरे ।
प्रकाशित समय : १६:५५ बजे




















