global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कर्णालीको बजेटमाथि विपक्षीको नियमापत्ति

कर्णालीको बजेटमाथि विपक्षीको नियमापत्ति

कर्णालीको बजेटमाथि विपक्षीको नियमापत्ति

कर्णाली प्रदेश सरकारको आइतबार बसेको बैठकमा विपक्षी दलका सांसद जीवनबहादुर शाहीले कर्णालीको बजेटमाथि नियमापत्ति जनाएपछि बैठक स्थगित भएको छ । कर्णाली सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा प्रस्तुत गरेको बजेट संविधानविपरित भएको भन्दै सांसद शाहीले नियमापत्ति जनाएका हुन् । संविधानको भाग १६ को प्रदेश आर्थिक कार्यप्रणालीअन्तर्गत धारा २०७ बमोजिम बजेट संविधानविपरीत भएको भन्दै उनले नियमापत्ति जनाएका हुन् ।
संविधानको भाग १६ को धारा २०७ मा राजस्व र व्ययको अनुमान प्रदेशको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा प्रदेश सभासमक्ष देहायका कुरासमेत खुलाई वार्षिक अनुमान पेस गर्न सक्ने उल्लेख छ । क) राजस्वको अनुमान ख) प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र ग) प्रदेश विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरु भनी उल्लेख गरेको छ । त्यस्तै उपधारा (२) बमोजिम वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्नेछ भन्ने उल्लेख छ ।
तर, यी सबै कुरा नसमेटिएको बजेट संसदमा कर्णाली सरकारले पेस गरेकाले बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि नबढ्ने भन्दै विरोध जनाएपछि आइतबार बैठक चल्न सकेन । सरकारले संविधान मिचेर ल्याएको बजेटमा आफूले सहमति नदिने सांसद शाहीले बताए । ‘संविधान मिचेर कुनै पनि हालतमा मनपरि ढंगले काम गर्न पाइँदैन । जबसम्म कर्णाली सरकारले यसको जवाफ दिँदैन तबसम्म बजेटमाथि मेरो सहमति छैन,’ उनले थपे, ‘कर्णाली सरकारका यस्ता धेरै बेढंगका निर्णय छन्, जो कर्णालीका जनतालाई प्रत्यक्ष बेफाइदा छ ।’ सरकारले गरेका राम्रा काममा सधैं सहयोग रहने उनले प्रस्ट पारे । बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालका सचिव राजेश पौडेलले जानकारी दिए ।

प्रकाशित समय : ०१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु