global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रविधिको धज्जी उडाउँदै सरकारी कार्यालय

प्रविधिको धज्जी उडाउँदै सरकारी कार्यालय

प्रविधिको धज्जी उडाउँदै सरकारी कार्यालय

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार गठन भएको चार महिना पुग्नै लागेको छ । सरकार गठन गर्दाको समयमा सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउने कुरा जोडतोडका साथ उठाइएको थियो । तर, अझैसम्म पनि जनताले त्यसको प्रत्यक्ष महसुस गर्न पाएका छैनन् ।

आफ्ना कामकारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाउनुपर्ने सरकारी कार्यालयले आफ्नो सामान्य जिम्मेवारीसमेत पूरा नगर्दा सेवाग्राही अन्योलमा परेका छन् । प्रविधिको बढ्दो विकास र विस्तारसँगै सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँचलाई सरल र सहज बनाउने उद्देश्यले करोडौं खर्चिएर वेबसाइट बनाइएको छ । त्यत्तिकै खर्चमा जनशक्ति परिचनाल गरिएको छ । तर, कर्मचारी आफ्नो जिम्मेवारीप्रति उदासीन हुँदा सेवाग्राही सुविधा लिनबाट वञ्चित छन् ।

मन्त्रालयदेखि तल्ला तहसम्म नागरिकले सेवा लिने सबै सरकारी कार्यालयको वेबसाइट बनाइएको छ । तर, अधिकांश कार्यालयले आधारभूत सामग्रीसमेत अद्यावधिक नगर्दा सरकारी लगानी बालुवामा पानी भएको छ । सबैभन्दा बढी लापर्बाही मन्त्रालयबाटै भएको छ । गृह मन्त्रालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्मका वेबसाइट अद्यावधिक भएका छैनन् । अद्यावधिक गरिएका थुप्रै सामग्री गलत छन् भने भाषागत अशुद्धता पनि उस्तै छ ।

सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा ‘नेपालमा पाँच विकास क्षेत्र र ७५ जिल्ला विकास समिति’ रहेको उल्लेख छ  ।

मुलुक संघीयतामा गइसकेपछि सोहीअनुसार राज्य संरचना परिवर्तन भइसकेको छ ।  संविधानअनुसार मुलुकमा अहिले विकास क्षेत्र र अञ्चलको अस्तित्व छैन । जिल्लाको संख्या वृद्धि भई ७७ कायम भएको छ । पुराना संरचनाका सबै कार्यालय खारेज गरी ७ प्रदेश र ७७ जिल्ला समन्वय समितिअनुसार सरकारी कार्यालय खडा गरी सोहीअनुरुप राज्य सञ्चालनमा छ । तर, सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा नेपालमा ५ विकास क्षेत्र र ७५ जिल्ला विकास समिति रहेको उल्लेख छ ।

अझ उदेक मान्नुपर्ने विषय त के छ भने मन्त्रालयले आफूले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै हाल २१७ नगरपालिका र ३ हजार १५७ गाउँ विकास समिति रहेको उल्लेख गरेको छ । वेबसाइटमा उल्लेख छ, ‘मुलुकको बृहत् कार्यक्षेत्र ओगटेको यस मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नका लागि मन्त्रालयमातहत तीन तहको संरचनात्मक ढाँचा निर्माण गरिएको र सो अन्तर्गत हाल ७५ जिल्ला विकास समिति, २१७ नगरपालिका र ३,१५७ वटा गाउँ विकास समिति मुलुकभर कार्यरत रहिआएका छन् ।

स्थानीय तह गठन भई जनप्रतिनिधि चुनिएको वर्ष दिनभन्दा बढी भइसक्दासमेत मन्त्रालायले मातहतका निकायमा  गाउँपालिका र नगरपालिका रहेको पुरानो सामग्री  सच्याएको छैन ।

मुलुक संघीय संरचनामा गएपछि गठन भएका कार्यालयको तालुकदार निकाय आफैं रहेको भन्दै गर्व गरे पनि करिब डेढ वर्षदेखि मुलुकमा ७ सय ५३ स्थानीय तह सञ्चालनमा आइसकेको मन्त्रालयले थाहै पाएको देखिँदैन । स्थानीय तह गठन भई जनप्रतिनिधि चुनिएको वर्ष दिनभन्दा बढी भइसक्दासमेत मन्त्रालायले मातहतका निकायमा  गाउँपालिका र नगरपालिका रहेको पुरानो सामग्री सच्याएको छैन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय मिलाएर बनाइएको सो मन्त्रालयको परिचय शीर्षकमा मन्त्रालय गठनको पृष्ठभूमि लेखिएको छ । तर, २०६२ सालसम्मको घटनाक्रममात्र लेखिए पनि मन्त्रालय गठनको अवस्थाबारे उल्लेख गरिएको छैन । वि.स. २०२८ सालमा तत्कालीन गृह एवं पञ्चायत मन्त्रालयअन्तर्गत स्थानीय विकास विभाग स्थापना गरिएको र पछि मन्त्रालय गठन भएको उल्लेख गर्दै वेबसाइटमा भनिएको छ, ‘वि.सं २०३७ सालमा स्थानीय विकास मन्त्रालयको स्थापना गरी नेपालको समग्र स्थानीय शासन, विकास र सेवा प्रवाहका लागि केन्द्रबाट नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह हुँदै आयो । वेबसाइटको टपबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लेखिएको भए पनि अरु सामग्रीमा भने ‘स्थानीय विकास मन्त्रालय’मात्रै उल्लेख छ ।

सामान्य प्रशासन मन्त्रालयमा सचिवदेखि श्रेणीविहीन कर्मचारी कार्यालय सहयोगीसम्म २ सय ६ जनाको दरबन्दी छ । केही कर्मचारी रिक्तबाहेक दरबन्दी करिब पुरानै छ । राजनीतिक पहुँचका आधारमा करारमा भर्ना गरिएकासमेत गरी मन्त्रालयमा २ सय ३० कर्मचारी कार्यरत छन् । कम्प्युटरमा काम गर्न दरबन्दीमै कम्युटर अधिकृत १ र कम्युटर अपरेटर पदमा ९ जना कर्मचारी छन् । सात सहसचिव, २२ उपसचिव र ३७ शाखा अधिकृत कार्यरत रहेकोमा अधिकांश भूमिकाविहीन हुँदा कामको चाप त्यति हुँदैन । तर, उनीहरुको ध्यान वेबसाइटमा सामग्री अद्यावधिक गर्नेतर्फ गएको देखिँदैन । मन्त्रालयको आधिकारिक वेबसाइट अद्यावधिक नगर्नुले सरकारी काममा हुने ढिलासुस्ती, लापर्बाही र बेवास्ता देखाएको भन्दै सेवाग्राही आलोचना गर्छन् । छिनका छिनमै अपडेट गर्न सकिने वेबसाइट वर्षाैंसम्म अपडेट नगर्ने सरकारी निकायबाट मुलुकमा प्रविधिको विकास हुन्छ भनेर के आशा गर्नु ? सेवाग्राहीहरुको वितृष्णा  छ ।

मन्त्रालय भन्छ, अब अपडेट गर्छौं

सरकारी कार्यालयमा हुने ढिलासुस्तीको उदाहरण बनेको सामान्य प्रशासन मन्त्रालयले अब छिट्टै वेबसाइट अद्यावधिक गर्ने बताएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले वेबसाइट अपडेटका लागि आफूले निर्देशन दिइसकेकाले छिट्टै काम हुने दाबी गरे । दुईवटा मन्त्रालय गाभिएर एउटै बनेकोले सामग्री संकलन, सम्पादन तथा व्यस्थापनका लागि पनि वेबसाइट अपडेटमा ढिलाइ भएको उनको प्रस्टोक्ति छ । अपडेटका लागि मैले सम्बन्धित शाखामा भनिसकेको छु, सामग्री तयार हुँदैछ, छिट्टै हुन्छ,’ सचिव थपलियाले न्युज कारोेबारसँग भने ।

गृहको हालत पनि उस्तै

देशैभरको शान्ति सुरक्षा हेर्ने गृह मन्त्रालयसमेत मुलुकमा ७७ जिल्ला छ भन्नेमा बेखबर छ । सबै जिल्लाका नागरिकको शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य दायित्व हो ।

तर, गृह मन्त्रालायको वेबसाइटमा हेर्ने हो भने मातहतका जिम्मेवारी रहेको क्षेत्र भन्दै नेपालको नक्सा राखी ७५ जिल्लामात्र उल्लेख गरिएको छ ।

प्रदेश सीमांकनका क्रममा रुकुमको पूर्वीभाग ५ नम्बर प्रदेशमा र पश्चिम भाग कर्णाली प्रदेशमा परेपछि उक्त जिल्लालाई पूर्व र पश्चिम गरी दुर्इ जिल्ला बनाइएको छ । नवलपरासीलाई समेत टुक्र्याएर दुर्इवटा बनाइएको छ । तर, गृहको वेबसाइटमा भने ७५ जिल्ला प्रशासन कार्यालय रहेको उल्लेख छ ।

जनताको माग र आधारभूत आवश्यकताअनुरूप सञ्चालन गरी भरपर्दो शान्ति सुरक्षा प्रदान गर्नुपर्ने दायित्व बोकेको गृह प्रशासनको नक्सामै त्रुटि भएपछि कस्तो सेवा प्रदान गर्ला सोचनीय विषय बनेको छ ।

 स्थानीय तहलाई विद्युुतीय सुशासन अन्तर्गत ल्याउने उद्देश्यले सबै स्थानिय तहहरुमा केन्द्रिय स्तरबाट नै वेबसाइट निर्माण गरिदिएको भए पनि वेबसाइटहरु नियमित अपडेट हुने गरेका छैनन् ।

जिल्लामा पनि उस्तै लापर्बाही

सरकारी वेबसाइटमा केन्द्रमा मात्र नभई जिल्लादेखि स्थानीय तहसम्म लापर्बाही छ । नियमित रुपमा कुनै पनि वेबसाइट अद्यावधिक भएका छैनन् । सामान्य आधारभूत सामग्रीसमेतमा वेवास्ता गरिएको छ । स्थानीय तहलाई विद्युुतीय सुशासनअन्तर्गत ल्याउने उद्देश्यले सबै स्थानीय तहमा केन्द्रीयस्तरबाटै वेबसाइट निर्माण गरिएको भए पनि वेबसाइट नियमित अपडेट छैनन् । अधिकांश जिल्ला समन्वय समिति, नगरपालिका र गाँउपालिकाका वेबसाइट छन् तर ती वेबसाइटमा आवश्यक सूचना तथा जानकारी राखिएको छैन । तालुकदार मन्त्रालयले नै लापर्बाही गरेपछि तल्ला तहका कार्यालयले कर्मचारी र स्रोत साधान हुँदाहुँदै पनि अटेर गरेका छन् ।

ललितपुर जिल्ला समन्वय समितिको वेबसाइट अझ टिठलाग्दो छ । वेबसाइटमा जिल्लाको परिचय दिँदै विकास क्षेत्र तथा अञ्चलदेखि प्रदेशसम्म राखिएको छ । मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत वागमती अञ्चलका आठ जिल्लामध्ये एक तथा प्रदेश नं ३ अन्तर्गत १३ जिल्लामध्येको ललितपुर जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये दक्षिणी भेगमा अवस्थित छ जिल्लाको परिचय शीर्षकमा भनिएको छ । वेबसाइटको टपबारमा जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति भनी सच्याइएको भए पनि अरु सामग्री अद्यावधिक गरिएका छैनन् ।

निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम सम्हालेको वर्ष दिन बितिसक्दा पनि कतिपय स्थानीय तहको वेबसाइटमा कोको जनप्रतिनिधि छन् भन्ने जानकारीसमेत राखिएको छैन । अधिकांश स्थानीय तहमा सूचना प्रविधि अधिकृत र कम्प्युटर अपरेटर नियुक्त गरिएका छन् । सूचना र सञ्चार प्रविधि अधिकृतको रुपमा कम्प्युटरसम्बन्धी विषयमा स्नातक तह अध्ययन गरेका व्यक्ति नियुक्त छन् । जनशक्ति हुँदाहुँदै पनि लापर्बाहीका कारण सरकारी कार्यालयका वेबसाइट नियमित अद्यावधिक नहुँदा आफूहरु सूचना पाउनबाट वञ्चित भएको सेवाग्राहीको गुनासो छ ।

सूचनाको हकको उल्लंघन

सूचनाको हकसम्बन्धी ऐन र स्थानीय स्वायत्त शासन ऐनमा भएको व्यवस्थाबमोजिम पनि सुशासन कायम गर्न सरकारी कार्यालयमा भएका काम पारदर्शी ढंगबाट देखाउने र नियमित वेबसाइट अपडेट गर्नुपर्ने हुन्छ । नेपालको संविधान एवं सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३(२)ले अझ यसलाई थप व्याख्या गरी प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ भन्ने व्यवस्था गरेको छ ।

 

प्रविधिसँग सूचनाको हक र सुशासन पर्यायबाची बनेका छन् । तर, सरकारी वेबसाइट अद्यावधिकमा चरम लापर्बाही भएको छ, यो एक किसिमले सूचनाको हकको उल्लंघनसमेत हो ।

 

राज्यका काम कारबाहीलाई अधिकतम खुला र पारदर्शी बनाई विधिको शासन स्थापित गर्ने अस्त्रको रूपमा सूचनाको हक एक सशक्त माध्यम हो । लोकतन्त्र गणतन्त्रको प्राणवायुको रूपमा प्रयोग गर्दै पारदर्शितालाई सूचनाले मलजल गर्छ । तर, सहज रुपमा सूचना प्रदान गरी सुशासन कायम गर्नुपर्नेमा वेबसाइट अद्यावधिक नगरी लापर्बाही गर्दा सूचनाको हक कुण्ठित भएको राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरि बाँस्कोटा बताउँछन् । आजकल प्रविधिसँग सूचनाको हक र सुशासन पर्यायबाची बनेका छन् तर सरकारी वेबसाइट अद्यावधिक नहुँदा चरम लापर्बाही देखिएको छ, यो एक किसिमले सूचनाको हकको उल्लंघन हो, बास्कोटाले भने ।

प्रकाशित समय : ०१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु