गृहपृष्ठ चेलीबेटी बेचविखनको नयाँ तरिका : यूएई भन्दै प्लेन चढाएर भैरहवा
चेलीबेटी बेचविखनको नयाँ तरिका : यूएई भन्दै प्लेन चढाएर भैरहवा
केही दिनअघि रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटी युवती भेटिइन् । ती युवती वास्तवमा काठमाडौंबाट संयुक्त अरब इमिरेट्स (यूएई)का लागि उडाइएकी थिइन् । तर, यूएई पुगेँ भनेर विमानबाट झरेकी ती युवती त्यतिबेला झसंग भइन्, जतिबेला ट्याक्सी चालकले उनलाई भैरहवा आइपुगेको जानकारी गराए ।
भैरहवा विमानस्थालमा ओर्लिएकी उनलाई ट्याक्सी चालकले सोधे– बैनी ! कहाँ जाने ? उनले भनिन्– दुवई !
त्यस्तो जवाफ दिएपछि त्यहाँ कार्यरत कर्मचारी तथा अन्य व्यक्ति अचम्ममा परे । दलालले नयाँ नम्बर दिएर काठमाडौंबाट ‘तिमीलाई यही नम्बरमा फोन आउँछ, त्यही ट्याक्सीमा चढेर कम्पनी जानू’ भन्दै पठाइदिएका थिए । उनलाई लिन आउने दलालले ढिला गरेका कारण नजिकै रहेको ट्याक्सी चालकसँग संयोगले वार्ता हुन पुगेपछि तस्करी पर्दाफास भएको हो ।
भैरहवा विमानस्थालमा ओर्लिएकी उनलाई ट्याक्सी चालकले सोधे– बैनी ! कहाँ जाने ?
उनले भनिन्– दुवई !
बैतडीकी ती निरक्षर युवतीलाई दुबई पठाइदिने भन्दै दलालले मोटो रकम लिएर काठमाडौंबाट जहाजको टिकट काटेर भैरहवा पठाइदिएका थिए । काठमाडौंमा विदेश पठाउने भन्दै दलालले भैरहवा विमानस्थल पठाउने र त्यहाँबाट बेलहिया नाका हुँदै सुनौलीबाट भारत लगेर बेच्ने मनसाय रहेको महिला तथा बालबालिका कार्यालय रुपन्देहीकी प्रमुख महिला विकास अधिकृत शारदा बस्याल बताउँछिन् । यो सबै घटनाबारे जानकारी पाएकी उनले तत्काल प्रहरीको सहयोगमा ती युवतीको उद्धार गरेकी थिइन् ।
खासगरी तामाङ, गुरुङ, मगर समुदायका युवतीलाई तस्करले बढी झुक्याउने गरेको पाइएको अधिकृत वस्याल बताउँछिन् । महिला तथा बालिबालिका कार्यालय रुपन्देहीमा चालू आर्थिक वर्षको ११ महिनामा ६९ वटा चेलीबेटी बेचविखनविरुद्धका उजुरी परेका छन् ।
गत वर्ष रुपन्देही कार्यालयले मात्र तीन सय ४४ जना चेलीबेटीको उद्धार गरेको थियो । तीमध्ये १४ जना भारतीय भूमिबाट फिर्ता उद्धार गरिएको हो भने ३ सय ३० जनालाई सीमा नाका बेलहियाबाट फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेटवर्किङ बिजनेसमा लगाइदिन्छु भन्दै तस्करले युवतीलाई भारत लगेर बेच्ने गरेको अनुसन्धानले देखाएको छ । महिला तथा वालबालिका कार्यालय र माइती नेपालले गरेको अनुसन्धानबाट डिडी नामक भारतीय नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै लैजाने र बेचविखन गर्ने गरेको पाइएको हो ।
सामाजिक सञ्जालका माध्यमबाट नजिक हुने र सोही माध्यमबाट भारत लैजाने प्रवृत्ति बढेको पाइएको छ । चेलीबेटी बेचविखनविरुद्ध कार्यरत माइती नेपाल रुपन्देहीकी अध्यक्ष प्रभा खनालका अनुसार काका, काकी, छिमेकी दाइ, दिदी, मामा, माइजूबाटै अधिकांश युवती बेचिने गरेका छन् ।
प्रकाशित समय : ०२:३२ बजे




















