गृहपृष्ठ सरकारलाई उपराष्ट्रपति पुनको प्रश्न – कुरा धेरै भए, काम कहिले ?
सरकारलाई उपराष्ट्रपति पुनको प्रश्न – कुरा धेरै भए, काम कहिले ?
उपराष्ट्रपति नन्दबहादुर पुनले पहिलो पटक सरकारको काम कार्बाहीप्रति असन्तुष्टि जनाएका छन् । जनताको अपेक्षा अनुसार सरकारका कुनै पनि काम प्रभावकारी नदेखिएको भन्दै उपराष्ट्रपति पुनले असन्तुष्टि जनाएका हुन् ।
२४ औं कार्गो दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ‘रेल, पानी जहाजजस्ता कुरामा भन्दा जनताको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रोड कनेक्टिभिटीमा जोड दिनुपर्यो ।’
उपराष्ट्रपति पुनले काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए । ‘काठमाडौंमा डुबान हुँदा पनि खासै काम गर्न नसक्नु दुखद पक्ष हो,’ उनले भने, ‘सरकारलाई काम गर्ने शैलीमा तीव्रता दिन आग्रह गर्न चाहान्छु ।’
सरकारले काम गर्ने शैलीमा परिवर्तन नगरे पाँच वर्षमा पनि मुलुकमा कुरा बाहेक केही पनि काम नहुने उपराष्ट्रपति पुनको भनाइ छ । उपराष्ट्रपति पुनले जनताका दैनिक आवश्यकतालाई सम्बोधन गर्ने काममा सरकारले जोड दिनुपर्ने बताए ।
प्रकाशित समय : २२:२२ बजे


















