काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जो मनको आँखाले जगत हेर्छन्…

10.61K
shares

 

न्यून दृष्टियुक्त व्यक्तिसँग मनको चम्किलो आँखा हुन्छ, तिनले मनको चम्किलो आँखाले पनि जगत हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् ।

नेपालगन्जका न्यून दृष्टियुक्त विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ । आफू न्यून दृष्टियुक्त भएकामा सुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकुद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगतलाई अहिले राम्ररी अनुभूति गरिरहेका छन् ।

ब्रेललिपि छामेर, सुनेर आफ्नो अध्यापनलाई अघि बढाइरहेकी विष्णु जस्तै ४० जनाभन्दा बढी न्यून दृष्टियुक्त बालबालिका र किशोरकिशोरी नेपालगन्जस्थित मंगलप्रसाद माविमा अध्ययन गर्दै आइरहेका छन् ।

मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रकाशवान हुन्छ, अनि प्रभावकारी पनि हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर दिइयो र मनग्ने माया गरियो भने बाहिरी आँखाले देख्ने सरह उनीहरु पनि सवल र सक्षम हुन सक्छन् ।

यसको उदाहरण हुन न्यून दृष्टियुक्त भोला त्रिपाठी । त्यही मंगल विद्यालयमा अध्ययन गरेर आफूजस्तै न्यून दृष्टियुक्त भएका व्यक्तिलाई पढाउने जिम्मेवारी भोलाको काँधमा छ । उच्च तहसम्मको अध्ययन पूरा गरेका भोला मंगल माविमा शिक्षकको भूमिकामा छन् ।

मंगल माविमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यून दृष्टियुक्त भएका विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले पनि लिएको छ ।

न्यून दृष्टियुक्त व्यक्तिलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिकारका लागि संघर्ष गर्दै आएको बाँके नेत्रहीन संघका अध्यक्ष कन्हैयालाल राना भन्छन्, ‘संघले विभिन्न निकायसँगको सहकार्यमा न्यून दृष्टियुक्त भएका व्यक्तिको जीवनलाई सहज र सरल बनाउने सबैखाले भूमिका निर्वाह गर्दै आएको छ ।’

मंगलप्रसाद माविमा अध्ययनरत न्यून दृष्टियुक्त व्यक्तिको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो संघीय शिक्षा इकाइ कार्यालय बाँकेले मिलाएको छ । न्यून दृष्टियुक्त व्यक्तिका लागि राज्यका तर्फबाट निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालिम र रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँकेका न्यून दृष्टियुक्त व्यक्तिलाई जीवन सहज ढंगबाट अगाडि बढाउन अवसर मिलेको छ ।

मंगल माविमा न्यून दृष्टियुक्त व्यक्तिका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेसँग राखेर पढाउने गरिएको छ । ‘यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौं भन्ने भावना विकास गराउनु नै हो,’ शिक्षक त्रिपाठी भन्छन् ।

‘बाहिरी आँखाले नदेखे पनि न्यून दृष्टियुक्त व्यक्तिसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरुले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाँका न्यून दृष्टियुक्त शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । उनीहरुलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ र अवसर पाए न्यून दृष्टियुक्त व्यक्तिले पनि ठूल्ठूला काम गर्न सक्छन्,’ अर्का न्यून दृष्टियुक्त शिक्षक भावुकजंग थापाले भने ।

एक-अर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाई राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट र संकल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रता यी सबै कारणले पनि समाजमा न्यून दृष्टियुक्त व्यक्तिको उचाइ बढ्दै गएको छ भन्दा अतिशयोक्ति नहोला ।

(रासस)