विवादमा सन्नी लियोन, चलचित्रको नामप्रति व्यापक विरोध
वि.सं.२०७५ साउन २ बुधवार १८:२६
shares

पूर्व पोर्न स्टार एवं बलिउड अभिनेत्री सनी लियोनको जीवनमा आधारित चलचित्र ‘करणजीत कौर’ रिलीज हुनुअघि नै विवादमा जेलिएको छ । यो चलचित्रमा सन्नी लियोनको बालापनदेखि पोर्न स्टार र बलिउड अभिनेत्री बन्दासम्मको यात्रा देखाइएको छ । गएको ५ जुलाईमा चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो । त्यसलगत्तै भिडियो स्ट्रीमिङ वेबसाइट युट्युवदेखि लिएर ट्वीटर, फेसबुकसम्म चलचित्रको समर्थन र विरोधमा तमाम टिप्पणीहरु देख्न सकिन्छ ।
ट्वीटरमा पवन गोग्नाले ट्वीट गरेका छन्, ‘एक पन्जाबी सिख महिला भएका नाताले सन्नीले आफ्नोमात्रै नभएर परिवारकोसमेत बदनाम गरेकी छन्, एक असफल व्यक्तिको जीवनीमा कुनै रुचि छैन । शिरोमणि गुरुद्वार प्रबन्धक समितिले यो चलचित्रको नाममा आपत्ती जनाउँदै आधिकारिक रुपबाट यसको विरोध गर्ने निर्णय गरेको छ । चलचचित्रको नाममा आपत्ती जनाउँदै समितिले सोधेको छ, ‘सन्नी लियोनको जीवनमा आधारित शब्दमा ‘कौर’ शब्दको प्रयोग किन ? समितिका प्रवक्ता दलजीत सिंह बेदीले भने, ‘उनी पोर्न स्टार थिइन्, बालापनमा सिख थिइन् र पछि उनले आफ्नो धर्म परिवर्तन गरी इसाइ धर्म अपनाइन् । उनका श्रीमान पनि इसाइ धर्मकै हुन् । सिख धर्ममा सिंह र कौरजस्ता उपमानहरुको निकै महत्वपूर्ण स्थान हुन्छ । यस्तोमा उनले कौर शब्दको प्रयोग गर्दा सिख धर्मको भावनामा ठेस पुगेको छ ।’
न्युज वेबसाइट डीएनएको खबरअनुसार यो चलचित्रका निर्देशक आदित्य दत्तले यो विवादमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘म पूर्ण रुपमा सिख समुदायको भावनाको सम्मान गर्छु, किनकि, म स्वयं पनि सिख नै हुँ ।’ उनले आश्चर्यता पनि व्यक्त गरेका छन् कि कसैले आफ्नो परिवारको नाम प्रयोग गर्दा पनि विरोध किन भइरहेको छ । सिख समुदायमा महिलाहरु आफ्नो नामको पछाडि कौर शब्द प्रयोग गर्ने गर्दछन्, जसको अर्थ राजकुमारी भन्ने हुन्छ ।

























