गृहपृष्ठ राजपासँग गठबन्धन टुट्दैन : राउत
राजपासँग गठबन्धन टुट्दैन : राउत
रौतहट– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा सरकार फेरिने हल्लामा सत्यता नभएको बताएका छन् । उनले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी बीचको गठबन्धन नटुट्ने दावी गरे ।
नेपाल कम्युनिस्ट पार्टीसँगको सहमतिअनुसार संघीय समाजवादी फोरम नेपाल केन्द्र सरकारमा सहभागी भएसँगै प्रदेशको समिकरण पनि फेरिन सक्ने समाचार हरु आएका थिए । तर, रौतहट पुगेका मुख्यमन्त्री राउतले पत्रकारसँग कुरकानीका क्रममा प्रदेश २ को गठबन्धन फेरिने हल्ला निराधार भएको बताए ।
उपेन्द्र यादव र मोहम्मद इस्तियाग राई अहिले फोरम नेपालको तर्फबाट संघीय सरकारमा मन्त्री छन् । यादवले उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत पाएका छन् । फोरम सरकारमा गएसंग २ नम्बर प्रदेशमा पनि नेकपा र फोरम बीचमा गठबन्धन भई सरकार निर्माण हुँदै छ भन्ने समाचारहरु प्रकाशमा आएका थिए ।
यद्यपि, मुख्यमन्त्री राउतले प्रदेश सरकारको म्याण्डेट भनेको राजपा र फोरम गठबन्धन भएको उल्लेख गर्दै दुवै मिलेर चुनाव लडेकाले जनताले साथ दिएको बताए । स्मरण रहोस् २ प्रदेशमा राजपा र फोरम गठबन्धन बनाई निर्वाचनमा गएका थिए । सोही गठबन्धनले अहिले २ नम्बर प्रदेशमा सरकार बनाएको छ ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको प्रसंग उठाउँदै सो क्रममा सरकारले सात पैसा पनि निकासा नगरेको दावी गरे । सीमित स्रोत साधनबाट थुप्रै आकांक्षाहरु पुरा गर्नुपर्ने भएकाले आफ्नो स्रोतसाधनले भ्याएसम्म प्रदेशका कार्यक्रमलाई अघि बढाउने राउतले बताए । उनले शिक्षा, स्वास्थ्य एवं मानव विकास सूचकांकमा पछाडि परेको तथा बेरोजगारीको ठूलो समस्या भएकाले आफ्नो सरकारसामु सबै समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने चुनौति रहेको उल्लेख गरे ।
प्रकाशित समय : २३:२८ बजे



















