global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कांग्रेस भेला : हेटौँडा घोषणापत्रसहित सकिँदै, यी विषय प्राथमिकतामा

कांग्रेस भेला : हेटौँडा घोषणापत्रसहित सकिँदै, यी विषय प्राथमिकतामा

कांग्रेस भेला : हेटौँडा घोषणापत्रसहित सकिँदै, यी विषय प्राथमिकतामा

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रियभेला ‘हेटौँडा घोषणापत्र २०७५’ जारी गर्दै आज समापन हुँदैछ । विशेषतः सांगठनिक सुदृढिकरण अभियानसहित पार्टी रुपान्तरणका लागि विविध बुँदाहरुमा केन्द्रित रही घोषणापत्र आउने बताइएको छ ।

संगठन, विधान संशोधन र समसामयिक राजनीतिक विषयवस्तुमा आधारित रही घोषणापत्र जारी गरिने सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । हेटौंडास्थित पल्पसा हलमा केहीबेरपछि हुने समापन समारोहलाई सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् ।

घोषणापत्रमा सरकार अधिनायकवादतर्फ उन्मुख रहेको र त्यसको प्रतिवादमा लोकतान्त्रिक शक्तिहरु एक भएर लाग्नुपर्ने विषयलाई पनि उल्लेख गरिने जनाइएको छ । बन्दसत्रमा अधिकांश जिल्ला सभापतिहरुले हिन्दुराष्ट्रलाई पार्टीको मुल मुद्दा बनाउन भन्दै अघि सारेको मागलाई घोषणापत्रमा समावेश गर्ने सम्भावना भने न्यून छ । गत वर्ष सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भएको भनिएको अन्तर्घातका कारण बेहोर्नुपरेको पराजयसम्बन्धी विषयबारे भने ठोस निष्कर्ष निस्कन सकेन । नेताहरुका अनुसार सो विषय घोषणापत्रमा समेटिने सम्भावना कम छ ।

निकै महत्वपूर्ण ठानिएपनि जिल्ला सभापतिहरुले भेलाको समय नेतृत्वको आलोचनामै खर्चिएकाले जिल्ला फर्कँदै गर्दा कार्यकताका लागि उनीहरुले लिएर जाने सन्देश भने खासै उपलब्धीपूर्ण देखिदैन । दुई शीर्ष नेताहरुले समापन समारोहलाई गर्ने सम्बोधनले पार्टी एकता, सुदृढिकरण तथा गुट–उपगुटको अन्त्य गर्न नेतृत्व गम्भीर छ वा छैन भन्ने सन्देश प्रवाह गर्नेछ । पूर्ण लोकतान्त्रिक पद्धतिले पार्टी अगाडि बढ्नुपर्ने आम कार्यकर्ताको अपेक्षा रहेको सन्दर्भमा हेटौँडा भेलालाई औपचारिकतामा मात्र सीमित नगर्न/नगराउन दुई नेताको सम्बोधन महत्वपूर्ण हुने विश्लेषकहरु बताउँछन् ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु