आन्दोलनको विरोध गरेको निहुँमा कांग्रेस कार्यकर्ताद्वारा कुटपिट
वि.सं.२०७५ साउन १५ मंगलवार २३:१६
shares

नेपाली कांग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार देशभर प्रदर्शन गर्याे । कांग्रेसकै शब्दमा ‘सरकारको अधिनायकवादी शैली’को विरोधमा मंगलबार देशभर विरोध कार्यक्रम राखिएको थियो ।
मंगलबार अन्य स्थानमा जस्तै हेटौंडामा पनि कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्याे । घटना हेटौंडास्थित बुद्ध चोकको हो । उक्त चोकमा प्रदर्शनपछि कोणसभा भइरहेको थियो । कोणसभा सकिनै लाग्दा भीड एक्कासी तितरबितर भयो ।
प्रहरीले बल प्रयोग नगरीकनै भीड तितरवितर भएपछि धेरैलाई आश्चर्यचकित बनायो । तर, घटना अर्कै थियो । भीडले एकाएक एक व्यक्तिमाथि निर्घात कुटपिट गर्न थाल्यो । प्रहरीले थाह पाएर भीड हटाउँदासम्म ति व्यक्तिले कांग्रेस कार्यकर्ताको पिटाई खाइसकेका थिए ।
हेटौंडा ६ चौघडाका सन्तोष सापकोटामाथि भीड जाइलागेको थियो । कोणसभाको अन्त्यतिर इन्द्रबहादुर बानीयाले बोल्ने क्रममा सापकोटाले कांग्रेसको आन्दोलन नाजायज भनेपछि उनीमाथि कुटपिट भएको हो ।
भीड एक्कासी सापकोटामाथि खनिएपछि प्रहरीले बल्लतल्ल भीड हटाएर सापकोटाको उद्धार गरेको थियो । त्यसपछि प्रहरीले उनको उद्धार गरी अस्पताल पुर्याएको थियो । सापकोटाको आँखामा चोट लागेको छ भने हेटौंडा अस्पतालमा उनको उपचार हुँदैछ ।
























