गृहपृष्ठ विराटनगर विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो
विराटनगर विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो
नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए ।
नेपालमा चालू अवस्थामा रहेका विमानस्थलको स्तरोन्नत्ति गर्ने र पहिला निर्माण भई सञ्चालनमा रहेका विमानस्थलमध्ये अहिले सञ्चालनमा नरहेका विमानस्थल कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा प्राधिकरणले गहन अध्ययन गरिरहेको पनि उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए । उनले नयाँ विमानस्थल निर्माणभन्दा पनि ठूला विमान अवतरण गरिरहेका स्थानको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय क्षमताका विमानस्थलको स्तरोन्नति गरी धावनमार्ग विस्तारमा प्राधिकरण केन्द्रित रहेको बताए ।
एक दशकदेखि यति कर्पोरेटले सुनसरीले धरानमा विमानस्थल बनाउन थालेको अभियानका विषयमा के हुन्छ त भन्ने प्रश्नमा उपमहानिर्देशक श्रेष्ठले विमानस्थल बनाउन सकिने सम्भावना रहे पनि भौगोलिक जोखिमपूर्ण रहेको तथा विराटनगर विमानस्थलनजिक रहेकाले यस विषयमा अध्ययन भइरहेको बताए । धरान उपमहानगरपालिकाले विमानस्थल बनाउन प्राधिकरणलाई सात बिगाह जमिन उपलब्ध गराउने आश्वासन दिएको भए पनि त्यो प्राप्ति गर्ने कार्य अघि नबढेको उनले स्पष्ट पारे ।
धरानमा विमानस्थल सम्भव छ कि छैन भन्ने विषयमा हालै प्राधिकरणका वरिष्ठ अधिकृत भोला घिमिरेको टोलीले स्थलगत अध्ययन गरेको र प्राधिकरणले वातावरण प्रभाव मूल्यांकन गर्ने प्रक्रिया अघि बढाएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए । यस विषयमा विस्तृत जानकारीका लागि प्राधिकरणले छुट्टै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने योजना बनाएको छ ।
उपमहानिर्देशक श्रेष्ठले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न एक अर्ब ३५ करोड बजेट नै विनियोजन गरेर दीर्घकालीन योजनासहित थप आवश्यक जमिन अधिग्रहणदेखि विमानस्थलको रन वे विस्तार योजनासमेत अघि बढाइसकेको जानकारी दिए ।
हाल विराटनगरमा एक हजार ५०० मिटरको रन वे रहेको तथा त्यहाँ अब कम्तीमा दुई हजार ५०० मिटरको रन वे बनाउने योजनासहित प्राधिकरणले काम अघि बढाएको छ । त्यसअन्तर्गत अहिले तीन करोड रूपैयाँ लागतमा टर्मिनल भवन रिमोडलिङ गर्ने कार्यको थालनी भएको छ ।
याम प्रधान (रासस)
प्रकाशित समय : १७:५६ बजे



















