global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन् ।
निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा शनिबार भएको छलफलमा अध्यक्ष दाहालले भने, ‘काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौं, ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईंहरु पनि सचेत हुनुहोला ।’
सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नरहेको उहाँको भनाइ छ । ‘साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन्,’ प्रचण्डले भने, ‘हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।’
विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको अध्यक्ष दाहालले बताए । ‘अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो । हामीलाई त्यसबाट दायाँबायाँ हुने छुट छैन,’ उनले भने ।
प्रचण्डले अनावश्यक रुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमानदार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पष्ट पारे । सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने उनको प्रस्टोक्ति थियो । ‘राज्य पनि कानुनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ,’ उनले भने ।
भेटमा व्यवसायीले ठूला ठेकेदारले मेचीदेखि महाकालीसम्म सबै काम लिएर ओगटेको गुनासो गरे । ‘सरकारले साना व्यवसायीलाई मात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्,’ एक व्यवसायीले भने ।
‘आफूलाई ठूला बताउने निर्माण व्यवसायीले देशभरि ठेक्का लिएर काम गरेका छैनन् । यी ६ वटा कम्पनीले ठेक्का होल्ड गर्ने काम नगर्ने गर्दा देश बर्बाद भयो,’ नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नवराज खड्काले भने ।
व्यवसायीले ठूला कम्पनीले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरुले बेहोर्नुपरेको बताए । सार्वजनिक खरिद ऐनका कारण ठूला ठेकेदार मोटाएको व्यवसायीले गुनासो गरेका थिए । (रासस)

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु