global ime bank Long Banner Ad

गृहपृष्ठ बोयर जातका बाख्राबाट मनग्य आम्दानी

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

म्याग्दीस्थित बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएका छन् । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै अाएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले अष्ट्रेलियाबाट बोयर जातका दुईवटा पाठी र दुईवटा बाेका ल्याएका हुन् ।

‘बोयर जातका बाख्रा खरिद गर्न नौ लाख खर्च भएको छ,’ उनले भने । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रापालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन गरिनेछ । रिजालले यसअघि धार्के र सुर्खेतबाट ल्याइएका बोयरबाट स्थानीय जातमा क्रस गरी नश्ल सुधार गर्दै अाएका छन् ।

‘पचासदेखि ७५ प्रतिशतसम्म बोयरको नश्ल सुधार हुने गथ्र्यो, अब शतप्रतिशत बोयर उत्पादन हुन्छ’ रिजालले भने । अहिले क्रस गरी उत्पादन भएका बोयर बोका प्रतिकिलो दुई हजारभन्दा बढी मूल्यमा बिक्र हुने गरेको छ । शतप्रतिशत शुद्ध बोयर बाख्राको मूल्य प्रतिकिलो चार हजारभन्दा बढी पर्छ । छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएपछि पछिल्लो समय कृषक बोयर बाख्रापालनतर्फ आकर्षित भएका छन् । 

जागिर त्यागेर गाउँमै बाख्रापालन गरेका रिजालले शुरुवातमा नौवटा बाख्राबाट व्यवसाय शुरु गरेका हुन् । रिजालद्वारा सञ्चालित धौलागिरि व्यावसायिक बाख्रा फार्ममा अहिले स्थानीय, बोयर र क्रस बोयर जातका गरी ४३ वटा बाख्रा रहेका छन् । वार्षिकरुपमा रु चार लाखभन्दा बढीका बाख्रा बिक्री गर्दै आएका रिजालले आगामी दिनमा शुद्ध बोयर जातका बाख्रापालन गर्ने लक्ष्य लिएकाे बताए ।

सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ । कृषकले एउटै बोकालाई ६० किलोभन्दा बढी तौलसम्म बनाएर बिक्री गर्दै आएका छन् । खसीबोका र माउ बाख्राको माग बढेसँगै फार्ममा लगानीसमेत बढाउँदै लगेको रिजाल बताउछन् ।

उनले माउ बाख्रा खरिद, खोर निर्माणलगायतमा २० लाखभन्दा बढी लगानी गरिसकेकाे बताए । बाख्रापालनका लागि उनले करीब ३० रोपनी जग्गामा जिल्ला वन कार्यालयको सहयोगमा रायो, खन्यु, दुधेलो, किम्बु, टाँकी, निमारोलगायतका घाँसखेती गरेका छन् । उनलार्इ जिल्ला पशु सेवा कार्यालयले आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ । 

बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले नेपालमा बोयर जातका बाख्रापालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

(रासस) 

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु