global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डका घरबेटीको विरोध गर्दा कारबाही

प्रचण्डका घरबेटीको विरोध गर्दा कारबाही

प्रचण्डका घरबेटीको विरोध गर्दा कारबाही

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबेटी शारदाप्रसाद अधिकारीको भण्डाफोर गरिएको भन्दै थानकोटका स्थानीयलाई कारबाही गरिएको छ । अधिकारी मालिक रहेको शैलुङ कन्सट्रक्सनले गरेको लापर्बाहीको विरोध जनाएको भन्दै स्थानीयलाई थानकोट प्रहरी चौकीमा उभ्याइएको हो । गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाही गर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दैनिकजसो सार्वजनिक अभिव्यक्ति दिइरहँदा प्रहरी प्रशासनले भने त्यसविपरीत ठेकेदारको बचाउ गर्दै सर्वसाधारणलाई दोषी करार गरेको हो ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्ड कालोपत्रे गर्ने ठेक्का लिएको शैलुङ कन्सट्रक्सनले गरेको कालोपत्रे दुई–तीन दिन नबित्दै उप्किएपछि स्थानीयले विरोध गरेका हुन् । सतुंगलस्थित चौधरी ग्र्रुपको गेटअगाडि कालोपत्रे गरिएको भोलिपल्टै सडक भासिएको छ । दूरसञ्चार कार्यालयको माथिल्लो गेटबाट दाउरा डिपो चेकपोस्टलगायत धेरै स्थानमा कालोपत्रे भत्किएको छ । सामान्य मानिसले हेर्दा पनि गुणस्तरीय काम नभएको देखिएपछि स्थानीयबासीले तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।
ठकेदारको लापर्बाहीको नियमन गर्ने निकायसम्म पुगोस् भन्ने उद्देश्यले सर्वसाधारणले भिडियो फेसबुकमा राखेपछि उनीहरुविरुद्ध कन्सट्रक्सनले गाली बेइज्जती मुद्दा दर्ता गर्दै कारबाही गराएको हो । कन्सट्रक्सनले निर्माण सामग्री राम्ररी संयोजन नगरी बढी कमिसन खाने उद्देश्यले कालोपत्रेमा लापर्बाही गरेको छ । यस्तो बदमासी खुलासा हुने डरले कन्सट्रक्सनले प्रहरीको सहायता लिएको हो ।

शैलुङ कन्ट्रक्सनले स्थानीयलार्ई कारबाहीको माग गर्दै प्रहरीमा दिएको उजुरी ।

 

प्रहरी प्रशासनले समेत शैलुङ कन्सट्रक्सनको प्रभावमा परी कमसल कालोपत्रेको विरोध नगर्ने सर्तसहित कागज गराएको स्थानीयको आरोप छ । महानगरीय प्रहरी वृत्त थानकोटले आफूहरुलाई सडकको विरोध नगर्ने सर्तमा कागज गराएर छाडेको स्थानीय उत्तम कार्कीले बताए । ‘पीडितलाई न्याय दिलाउनुपर्ने जिम्मेवारी बोकेको प्रहरीले उल्टै विवादित कन्सट्रक्सनको प्रभावमा परेर स्थानीयवासीको ‘स्वतन्त्र अभिव्यक्तिको हक’ कुण्ठित पारेको छ,’ कार्कीले न्युज कारोबारसँग भने ।
गलत कामको भण्डाफोर नगर्न दबाब दिँदै अबदेखि विरोध गरेमा जेल हाल्ने धम्कीसहित जबर्जस्ती कागज गराइएको स्थानीय पीडित कार्कीको आरोप छ । ‘हामीले गलत कामको भण्डाफोर तथा खबरदारी गरेका हौं, राज्यलाई ठग्ने उद्देश्यले काम भएको देखिएपछि उनीहरुलाई गुणस्तरीय काम गर्न आग्रह गरेका हौैं,’ पीडित कार्कीले भने, ‘तर उल्टै हामीलाई अबदेखि त्यसबारे बोलियो भने जेल हाल्ने धम्कीसहित जबर्जस्ती काजग गराइयो ।’

डीएसपीले गरे शैलुङको बचाउ
स्थानीयलार्ई कारबाही गर्ने महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले प्रचण्डका घरबेटी अधिकारीको बचाउ गरेका छन् । शैलुङ कन्सट्रक्सनविरुद्ध स्थानीयले गालीगलौज गरेकाले कारबाही गर्नुपरेको प्रहरी नायब उपरीक्षक नेपालले बताए । ‘कुनै संस्था वा व्यक्तिले लापर्बाही गरेमा उजुरी दिने सम्बन्धित निकाय छ तर जबर्जस्ती गालीगलौज गरेकाले त्यसो नगर्न सचेत गराइएको हो,’ उनले न्युज कारोबारसँग भने ।
स्थानीय युवा कार्कीको भनाइ खण्डन गर्दै डीएसपी नेपालले सार्वजनिक रुपमा गालीगलौज गर्न कसैलाई छुट नरहेको भन्दै चित्त नबुझे सम्बन्धित निकायमा जान आग्रह गरे ।

कालोपत्रे गर्दा लापर्बाही गरेको भन्दै स्थानीय युवा उत्तम कार्कीले फेसबुकमा राखेको सामग्री

यो पनि पढ्नुहोस्
प्रचण्डका घरबेटीको अर्काे बदमासी

प्रकाशित समय : ०१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु