गृहपृष्ठ कमिसनको लोभमा कालोसूचीमा परेका कलेजमा विद्यार्थी पठाउँदै कन्सल्टेन्सी
कमिसनको लोभमा कालोसूचीमा परेका कलेजमा विद्यार्थी पठाउँदै कन्सल्टेन्सी
नेपालका कन्सल्टेन्सीले कमिसनको लोभका विदेशका कालोसूचीमा रहेका मेडिकल कलेजमा विद्यार्थी पठाउने गरेको तथ्य सार्वजनिक भएको छ । नेपाल मेडिकल काउन्सिलले नेपाली विद्यार्थी पढ्न जान रोक लगाए पनि कन्सल्टेन्सीले झुटको खेती गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको फेलापरेको हो ।
विद्यार्थीहरु मेडिकल शिक्षा पढ्न विदेश विदेश जान कन्सल्टेन्सीको सहयोग लिने गर्छन् । तर, कन्सल्टेन्सीहरुले भने कालो सूचीमा परेका मेडिकल कलेजको प्रलोभनमा परी त्यसैलाई राम्रो कलेज भन्दै पठाउने गरेको बंगलादेशमा अध्ययन गरेर फर्किएका विद्यार्थीले बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कै तथ्यांकअनुसार ३५ वटा कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई बंगलादेश पठाउँदै आएका छन् । तीमध्ये केही कन्सल्टेन्सीले पढाइ राम्रो नहुने, आवश्यक भौतिक पूर्वाधार नभएका र मापदण्ड नै नपुगेका मेडिकल कलेजमा विद्यार्थी पठाइरहेको विद्याथीको आरोप छ ।
नेप्लिज बिद्यार्थी एसोसिएसन अफ बंगलादेशले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी बंगलादेशका त्यस्ता कलेजमा विद्यार्थी पुर्याइने गरेको जनाएको छ । बंगलादेशको मेडिकल कलेजले कालोसूचीमा ३६ वटा मेडिकल कलेजलाई राखेको छ । त्यीमध्ये करिब १० बटामा अहिले दुई सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको नेप्लिज स्टुडेन्ट एसोसिएसन अफ बंगलादेशको दाबी छ ।
बंगलादेशमा करिब एक सयभन्दा बढी मेडिकल कलेज छन् । तीमध्ये २५ भन्दा बढी सरकारी मेडिकल कलेजको गुणस्तर राम्रो छ । तर, निजी क्षेत्रबाट सञ्चालित ७५ भन्दा बढी मेडिकल कलेजमध्ये ६० प्रतिशतको शैक्षिक गुणस्तर निक्कै कमजोर छ ।
पढाइ तथा ल्याब नराम्रो भएका र मापदण्ड नपुगी सञ्चालित कलेज कालोसूचीमा परेका हुन्छन् । तिनै कलेजमा विद्यार्थी संख्या कम हुने भएपछि मोटो रकम कमिसन दिएर कन्सल्टेन्सीलाई गुहार्छन् । र, नेपालका केही कन्सल्टेन्सीले दुई सयभन्दा बढी विद्यार्थी त्यस्ता कालोसूचीमा परेका कलेजमा पुर्याइसकेको नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादवको दाबी छ ।
‘कन्सल्टेन्सीले राम्रो कलेजमा विद्यार्थी पठाउँदा १ लाख ५० हजारदेखि २ लाख ५० हजार नेपाली रुपैयाँमात्र कमिसन पाउँछन् । तर, कालोसूचीमा परेका कलेजमा विद्यार्थी पठाउँदा प्रतिविद्यार्थी ५ देखि ७ लाख रुपैयाँसम्म कमिसन पाउछन्, त्यसैले उनीहरुले कालोसूचीमा परेका कलेजमा विद्यार्थी पठाउँदै आएका छन्,’ बंगलदेशका लागि नेपाली राजदूूत डा. चोपलाल भुसाललाई उद्धृत गर्दै एसोसिएसनका अध्यक्ष यादवले जानकारी दिए ।
कालोसूचीका कलेजमा समस्यै–समस्या
नेपालका कन्सल्टेन्सीले तस्बिर र भिडियोमा भव्य सुविधायुक्त अस्पताल भवन, उपकरणहरू देखाउने र उच्चस्तरको पढाइ हुन्छ भन्दै विश्वकै कमजोर कलेजमा पु¥याउँदै आएको पाइन्छ । कालोसूचीमा परेको कलेजमा पुर्याएका विद्यार्थीले शैक्षिक गुणस्तरको अभावका साथै अन्य धेरै समस्या झेल्ने गरेका छन् ।
‘फोहोर र साँघुरो होस्टल, असुरक्षा र भिसाको समस्या, महँगो पढाइ, काउन्सिलको कोटाभन्दा बढी विद्यार्थी भर्ना गराएर विद्यार्थीलाई फेल गराउने र प्रोफेसरले नराम्रो व्यवहार गर्नेजस्ता समस्या भोग्नुपर्ने बाध्यतामा विद्यार्थीमा छन् ।’
कतिपय कलेजमा अध्ययनको समयमा बिरामीलाई हेर्नै नपाउनेसमेत अवस्था रहेको बंगलादेशमा अध्ययन सकेर फर्किएका मधेसी चिकित्सक संघका प्रवक्ता विनय पञ्जियारले बताए । ‘फोहोर र साँघुरो होस्टल, असुरक्षा र भिसाको समस्या, महँगो पढाइ, काउन्सिलको कोटाभन्दा बढी विद्यार्थी भर्ना गराएर विद्यार्थीलाई फेल गराउने र प्रोफेसरले नराम्रो व्यवहार गर्नेजस्ता समस्या भोग्नुपर्ने बाध्यतामा विद्यार्थीमा छन्,’ उनले भने ।
यी समस्यालाई नेपालका कन्सलटेन्सीले सुरुमा लुकाउँदै विद्यार्थीलाई त्यस्ता कलेजमा पढ्न पठाउने गरेका छन् । विद्यार्थीलाई टुरिस्ट भिसामा लगेर अलपत्र बनाउने र स्टुडेन्ट भिसामा कन्भर्ट गर्न कन्सल्टेन्सीले महँगो शुल्क असुल्ने गरेको पीडित विद्यार्थीको गुनासो छ ।
बंगलादेशी विद्यार्थी नै आन्दोलनमा
अहिले दिनहँुजसो विद्यार्थी बंगलादेशस्थित नेपाली दूतावासमा कलेजमा पठनपाठनलगायतका समस्या लिएर आउने गरेका छन् । ‘कमसल कलेजलाई विश्वकै उत्कृष्ट भन्दै विद्यार्थीलाई फसाएर बंगलादेश पु¥याएका छन् । अब ती विद्यार्थीलाई समयमै उद्धार गरी अन्यत्र सारिएन भने उनीहरुको पैसा डुब्नेमात्र होइन, भविष्य नै बर्बाद हुने स्थिति छ,’ बंगलदेशमा मेडिकल शिक्षा पढेका विनय पञ्जियार भन्छन् ।
मधेसी चिकित्सक संघका प्रवक्तासमेत रहेका पञ्जियारले बंगलादेशी विद्यार्थीले नै गुणस्तरीय शिक्षा नभएको र अस्पताल राम्ररी नचलेको गुनासो गर्दै पठनपाठन बहिष्कार गर्दै आएको जानकारी दिए । केही दिनयता पढाइ गुणस्तरीय नभएको भन्दै बंगलादेशी विद्यार्थी आन्दोलित छन् । आन्दोलनमा थुप्रै बंगलादेशी विद्यार्थी घाइते र अंगभंगसमेत भएका छन् ।
कन्सल्टेन्सीवाला नै गर्छन् हुन्डी कारोबार
बंगलादेशका निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएस अध्ययन शुल्क नेपालको भन्दा निकै महँगो छ । अध्ययन शुल्क ४५ देखि ५० लाख रुपैयाँ छ भने ६ देखि ७ वर्षसम्मको बसाइका क्रममा गरी ६० देखि ७० लाख रुपैयाँसम्म बेहोर्नुपर्ने हुन्छ । तर, सुरुमा नेपालमा भन्दा सस्तो शुल्कमा गुणस्तरीय पढाइ हुने भन्दै कन्सल्टेन्सीले विद्यार्थी झुक्याउने गरेका छन् । कलेजमा गएपछि विभिन्न शीर्षकमा पटक–पटक गरेर मागिएपछि विद्यार्थीले बल्ल कन्सल्टेन्सीको नियत थाहा पाउँछन् ।
त्यसरी पटक–पटक पठाइने पैसा कन्सल्टेन्सीले हुन्डी गरी पठाउँछन् । नेपाली अभिभावकबाट बंगलादेश पैसा पठाउन कन्सल्टेन्सीले नै हुन्डी कारोबार गर्दै आएको नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनको आरोप छ ।
७२ घण्टाभित्र उद्धार गर्न माग
नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनले नेपाली विद्यार्थीका यी समस्या सबोधन गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । सरकारले त्यहाँ कालोसूचीमा परेका कलेजका विद्यार्थीलाई उद्धार गर्दै नेपाल नल्याए कडा आन्दोलनमा उत्रिने चेतावनी एसोसिएसनले दिएको छ ।
त्यस्ता कजेलमा विद्यार्थी पुर्याउने कन्सल्टेन्सीलाई कारबाही गर्नसमेत माग गरिएको छ । ‘बंगलादेशमा कालोसूचीमा परेका ८ देखि १० वटा मेडिकल कलेजमा करिब २ सय नेपाली विद्यार्थी अध्ययनरत छन्, तिनीहरुलाई नेपालमै स्थानान्तरण गर्न र एजुकेसन कन्सल्टेन्सीलाई छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्छौं,’ एसोसिएसनका अध्यक्ष यादवले भने, ‘नत्र कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।’
बंगलादेशमा कालोसूचीमा परेका कलेजको नामावली
१. नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी ढाका
२. केयर मेडिकल कलेज, इकबाल रोड, मोहम्मदपुर ढाका
३. शाहबुद्दिन मेडिकल कलेज, गुल्सान ढाका
४. आइची मेडिकल कलेज, अब्दुल्लापुर ढाका
५. अब–डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरानीगन्ज ढाका
६. सफेना डेन्टल कलेज, डिआइटी रोड ढाका
७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर
८. सिटी मेडिकल कलेज, इटाहाटा, गाजीपुर
९. नाइटिंगेल मेडिकल कलेज, नाइटिंगेल पोइन्ट, अशुलिया
१०. बिजिसी ट्रस्ट मेडिकल कलेज, चित्तागोंग
११. जलालाबाद रागिब–रवैया मेडिकल कलेज, सिल्हेट
१२. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
१३. गानोसास्त्य समाज भित्तिक मेडिकल कलेज, सभार
१४. द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश
१५. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
१६. आइबिएआइएस युनिभर्सिटी
१७. क्वीन्स युनिभर्सिटी
१८. सिल्हेट इन्टरनेसनल युनिभर्सिटी
१९. साउर्थन युनिभर्सिटी
२०. प्रिमियर युनिभर्सिटी
२१. ब्रिटानिया युनिभर्सिटी
२२. गोनो विश्वविद्यालय
२३. आशियान मेडिकल कलेज
२४. बसुन्धरा एडडीन मेडिकल कलेज
२५. अब्दुल हमिद मेडिकल कलेज
२६. ब्रह्मानबरिया मेडिकल कलेज
२७. युनिभर्सल मेडिकल कलेज
२८. केयर मेडिकल कलेज
२९. पार्क भ्यु मेडिकल कलेज
३०. युएस बंगला मेडिकल कलेज
३१. चट्टाग्राम इन्टरनेसनल मेडिकल कलेज
३२. विक्रमपुर भुइयान मेडिकल कलेज
३३. मोनोआरा सिक्देर मेडिकल कलेज
३४. मेराइन सिटी मेडिकल कलेज
३५. शाह मक्धुम मेडिकल कलेज
३६. एचएमसीएच मेडिकल कलेज
स्रोत : नेपाल मेडिकल काउन्सिल
प्रकाशित समय : १५:०७ बजे



















