काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डोटीको बोगटान गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय

18.02K
shares

 

प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले बोगटान गाउँपालिकाको नाम ‘बोगटान फुडसिल’ राख्ने निर्णय गरेको छ । प्रदेश सरकारले गाउँपालिकाको नयाँ नाम कायम गर्न केन्द्र सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

स्थानीय जनताको माग र गाउँसभाको बैठकले गरेको निर्णयअनुसार केन्द्र सरकारलाई सिफारिस गर्ने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । यसैगरी, मन्त्रिपरिषद बैठकले कैलालीको कैलारी गाउँपालिका-४ मा पर्ने नवलपुर गाउँलाई वडा नम्बर १ मा, डोटीको आदर्श गाउँपालिकाको वडा नम्बर ४ मा रहेको पातल गाउँलाई वडा नम्बर ५ मा समावेश गर्न पनि केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले डडेल्धुरास्थित भागेश्वर गाउँपालिकाको वडा नम्बर ४ को केन्द्रलाई गुवाडी टप्वामा सार्न सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद बैठकले विपद व्यवस्थापन तथा राहत कोष विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्नका लागि आन्तरिक तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई पनि प्रदेश सभामा पेस स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता शाहले जानकारी दिए ।

यस्तै, सुशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । यसैबीच, मुख्यमन्त्री त्रिलोचन भट्टले बैठकमा सबै मन्त्रालय, सचिवालय, कार्यालयले आ-आफ्नो निकायको संगठन, संरचना र कर्मचारी दरबन्दी यकिन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गर्नुपर्ने ठाडो प्रस्ताव पेस गरेका छन् ।