गृहपृष्ठ सेयर बजार झन् सुस्त, दैनिक कारोबार २० करोडभन्दा कम
सेयर बजार झन् सुस्त, दैनिक कारोबार २० करोडभन्दा कम
सेयर बजारमा सूचीकृत कम्पनीहरुले धमाधम सुधारिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरिरहँदा पनि बजारमा लगानीकर्ताको चासो फर्किन सकेको छैन । लामो समय ‘बियरिस ट्रेन्ड’ भोगेका लगानीकर्तालाई कम्पनीहरुको चौथो क्वाटरको सुधारिएको प्रतिवेदनले पनि आकर्षित गर्न नसकेको हो ।
बजार न्यून बिन्दुनजिक रहेका बेला लगानी बढाउनु तुलनात्मक रुपमा बढी सुरक्षित मानिन्छ । तर, अधिकांश लगानीकर्तामा बजार धेरै घट्दा भाग्ने र बढ्न थालेपछि प्रवेश गर्ने प्रवृत्ति भएकाले बजार सुस्ताएको सेयर बजार विश्लेषक बताउँछन् ।
तीन वर्षअघि ठूलो भोल्युममा पुँजी वृद्धिका भएका कारण कम्पनीहरुको सोही अनुपातमा नाफा वृद्धि गर्न सकेका छैनन् । बजारमा सेयर आपूर्ति चार गुणाभन्दा धेरैले बढेको छ । लगानीकर्ता नथपिँदा सेयर आपूर्तिअनुसार माग बढ्ने स्थिति छैन । सेयर बजारको प्रतिफलभन्दा बढी प्रतिफल बैंक ब्याजमार्फत दिएका छन् । ठूला लगानीकर्ता ‘पर्ख र हेर’को अवस्था छन् । त्यसको सीधा असर बजारमा परेको छ ।
महिनौंदेखिको सेयर कारोबारको भोल्युमले पनि बजार सुस्ताएको स्पष्ट संकेत गरेको छ । विगतमा दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर एकैदिन किनबेच भएका उदाहरण थुप्रै छन् । तर, अहिले साताभरिको कारोबार बल्ल एक अर्बभन्दा माथि हुने गरेको छ । आइतबार (हिजो) को कारोबार त जम्मा १७ करोडमा सीमित रह्यो भने भने नेप्से १.४३ अंकले घट्यो ।
साताको दोस्रो कारोबार हुने दिन सोमबार पनि १९ करोड १७ लाखमा कारोबार सीमित भयो । बैंक, व्यापार, जलविद्युत र वित्त समूहको परिसूचक उकालो लागे पनि अन्य समूह बढ्न नसकेपछि समग्र बजार परिसूचक नकारात्मक बन्यो । सोमबार नेप्से ०.२१ अंकले घटेर ११८९.६७ अंकमा झरेको छ ।
घटेको बजारमा पनि सपोर्ट माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रिडी हाइड्रपावर, छिमेक लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, नयाँ नेपाल लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित समय : २२:३७ बजे


















