गृहपृष्ठ बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

निर्देशनात्मक पत्र पठाउँदै मन्त्रालयले वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्न सक्ने भन्दै देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न निर्देशन दिइएको हो ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले शुक्रबार देशभरका स्वास्थ्य संस्थाका नाममा निर्देशनात्मक पत्र जारी गरेका हुन् । स्वास्थ्यकर्मीलाई यो समयमा बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिइएको छ ।

निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा बन्द र हड्ताल गरेमा कारबाही हुने चेतावनी दिँदै सहसचिव बुर्लाकोटीले उल्लेखित क्रियाकलाप गरेको÷गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी दिएका छन् ।

यता नेपाल चिकित्सक संघले भने डा. केसीको जीवन रक्षाका लागि आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

यसैबीच, नेपाल चिकित्सक संघले छुट्टाछुट्टै समयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र उज्वल थापालगायतलाई भेट गरेको छ । उनीहरुले डा. केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गरेका छ ।

संघका महासचिव डा. लोचन कार्कीले संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीतिक दलका नेताहरुसमक्ष भेट गरी आन्दोलनको वास्तविकता र डा. गोविन्द केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गर्ने पनि जानकारी दिए ।

(रासस)

प्रकाशित समय : ००:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु