गृहपृष्ठ चितवनमा रात्रि बस र ट्रक जुध्दा चारको मृत्यु, १७ घाइते
चितवनमा रात्रि बस र ट्रक जुध्दा चारको मृत्यु, १७ घाइते
चितवनको भानुचोकमा मंगलबार राति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना. ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना. ६ ख १७४१ नम्बरको बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गको रत्ननगर नगरपालिका-१०, भानुचोकमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका- १ का ४२ वर्षीया तारा बराल रहेको चितवन प्रहरीले जनाएको छ ।
इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । मृतक चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ ।
प्रकाशित समय : १३:२३ बजे



















