गृहपृष्ठ नेकपाका युवा, विद्यार्थी एकता : नाम र नेतृत्वमा अझै जुटेन सहमति
नेकपाका युवा, विद्यार्थी एकता : नाम र नेतृत्वमा अझै जुटेन सहमति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा पुगेको बताइएको भए पनि नाम र नेतृत्वमा अझै सहमति जुटेको छैन । तत्कालिन एमाले र माओवादी केन्द्र एक भई नेकपा बनेपछि भातृ संगठनको एकता प्रक्रिया अघि बढाइएको भए पनि त्यसले पूर्णता पाउन समय लागेको छ ।
नेकपाले आफ्ना युवाहरुको संगठन एमाले निकट युवा संघ नेपाल तथा माओवादीको वाइसिएलबीचमा एकता गर्नु पर्नेछ । त्यसैगरी विद्यार्थीहरुको संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकता गर्नु पर्नेछ । तर यी दुवै संगठनको एकतापछि नाम के हुने ? र नेतृत्व कसले गर्ने ? भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन ।
नेताहरुले भने नाम र नेतृत्वमा सहमति नजुटेको भए पनि एकटता प्रक्रिया अघि बढेको बताएका छन् । युवा संघ र वाइसिएलको एकतापछिको नाम र नेतृत्वबाहेक सबैकुरा मिलिसकेको एकता गर्न गठित कार्यदलका सदस्य तथा वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा बताउँछन् । तर विश्लेषकहरुले भने नाम र नेतृत्व नै मुख्य कुरा भएकाले त्यसमा सहमति नजुटेसम्म एकता प्रक्रियाले गति लिन नसक्ने बताउँछन् ।
‘कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्न हामी प्रयासरत छौं, सापकोटाले भने, ‘कार्यदलमा सहमति हुन नसके पार्टी नेतृत्वबाट नै सहमति गर्नेछौं ।’ युवाहरुको संगठनले नाम र नेतृत्वमा आ–आफ्नो दावी गर्दै आएका छन् ।
सापकोटाका अनुसार एकीकृत संगठनको नाम युवा कम्युनिस्ट लिग नेपाल, समाजवादी कम्युनिस्ट युवा नेपाल, नेपाली युवा फेडेरेसन वा नेपाल समाजवादी युवा संघ राख्नेमा छलफल चलिरहेको छ । आगामी भदौ ५ भित्र एकता गर्ने गरी कार्यदलको प्रतिवेदन शुक्रबार नेकपाका महासचिवलाई बुझाउने सापकोटाले बताए ।
यसैगरी नयाँ बन्ने केन्द्रीय कार्यसमिति १ सय ९९ सदस्यीय रहने गरी विधान टुंग्याइएको पनि उनले जानकारी दिए । कार्यसमितिमा संयोजक, सहसंयोजक, नौ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीको एक तिहाइ सचिवालय रहनेछन् ।
उता विद्यार्थी संगठनको कुरा पनि यसभन्दा भिन्न छैन । विद्यार्थीहरुको एकता अन्तिम चरणमा पुगेको बताइए पनि नाम र नेतृत्वमा भने सहमति जुट्न बाँकी छ । दुवै विद्यार्थी संगठनले विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशालाई अन्तिम रुप दिन थालेका छन् ।
क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेतृत्व र नाम दुवै संगठनले आ–आफ्नो दावी कायमै राखेको बताए । बस्नेतका अनुसार केन्द्रीय कमिटि एक सय ९९ सय सदस्सीय हुनेछ ।
प्रकाशित समय : ०१:१९ बजे



















