global ime bank Long Banner Ad

गृहपृष्ठ गोक्यो हिमतालमा हराएका तीन विद्यार्थी अझै भेटिएनन्, खोजीका लागि गोताखोरसहितको टोली पुग्यो

गोक्यो हिमतालमा हराएका तीन विद्यार्थी अझै भेटिएनन्, खोजीका लागि गोताखोरसहितको टोली पुग्यो

गोक्यो हिमतालमा हराएका तीन विद्यार्थी अझै भेटिएनन्, खोजीका लागि गोताखोरसहितको टोली पुग्यो

सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा शनिबार बिहानदेखि हराएका तीन जना विद्यार्थी अझै नभेटिएपछि खोजीका लागि सशस्त्र प्रहरीका पाँचजना गोताखोर गोक्यो पुगेको छ । चार दिनदेखि तालमा डुबेका बालकको अवस्था अझै अज्ञात रहेपछि खोजीका लागि गोताखोर झिकाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी दिए ।

खुम्जुङ माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणका शिलशिलामा गोक्यो क्षेत्र लगिएको थियो । सोही क्रममा तालमा पौडी खेल्दै गर्दा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा डुबेका थिए । शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा रहने उक्त तालमा यति लामो समयसम्म नभेटिएपछि जीवित भेटिने आश मरिसकेको स्थानीयले बताएका छन् ।

स्थानीय तवरबाट खोजी सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयबाट गोताखोर झिकाइएको हो । सशस्त्र प्रहरीका पाँचजना गोताखोर मंगलबार नै चितवनबाट गोक्यो पुगेका छन् । उनीहरु नाम्चेबाट दुईवटा हेलिकोप्टरमा गोक्योनजिकै फांगामा अवतरण गरेका थिए । गोक्योमा मौसम प्रतिकूल भएपछि उनीहरु फांगामा अवतरण गरी करिब तीन घण्टा पैदल हिँडेर गोक्यो पुगेका हुन् ।

गोताखोरको साथमा पाँचजना नेपाली सेना र दुईजना नेपाल प्रहरी छन् । गोताखोर टोलीले तालमा पसेर बेपत्ता बालकको खोजी गर्नेछन् । प्रमुख जिल्ला अधिकारी रानामगरले मंगलबार साँझ गोक्यो पुगेको टोलीले बुधबार बिहानबाट खोजी सुरु गरेको बताएका छन् ।

सम्भव छ उद्धार ?

गोक्यो हिमताल समुद्री सतहबाट ४ हजार ७ सय ५० मिटरको उचाइमा छ । हाइ अल्टिच्युटमा रहेको हिमताल भएका कारण यहाँको तापक्रम अहिले शून्य डिग्री सेल्सियसभन्दा कम छ । माइनस तापक्रममा रहेको तालमा चार दिनदेखि हराइरहेका बच्चा जीवित भेटिने सम्भावना नरहेको हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले बताए ।

केही महिनाअघि मात्रै तालका बारेमा अध्ययन गरेका अध्यक्ष रेग्मीले गोताखोरको प्रयास पनि सफल हुने सम्भावना न्यून रहेको बताए । उनले भने, ‘तालको गहिराइ केन्द्र भागमा ६० मिटरसम्म छ । त्यसमाथि माइनस डिग्रीमा पौडीएर उद्धार गर्न खोज्नु सामान्य चुनौतीको कुरा होइन ।’

तालको पानी स्थिर रहने भएकाले हराएका बालक बगेर पानी निकास हुने विन्दुसम्म पुग्ने सम्भावना पनि न्यून छ । डा. रेग्मीले भने, ‘तालको बाहिरी भागमा ढुंगा भए पनि अधिकांश भागमा बालुवा मिसिएको लेदोयुक्त हिलो छ, बालकहरु त्यही हिलोमा गाडिएको हुनसक्छ । त्यस्तो अवस्थामा भेटिने सम्भावना रहँदैन ।’ यद्यपि। कुनै बेला बालकहरु तैरिएको अवस्थामा भेटिने आशमा स्थानीय बासिन्दाले तालमा निरन्तर आँखा लगाइरहेको खुम्जुङ माध्यमिक विद्यालयका पूर्वाध्यक्ष पेम्बा शेर्पाले बताए ।

हिमतालमा गोताखोर पस्नु पनि अत्यन्त जोखिम हुने डा. रेग्मीले बताए । ‘अहिले त्यहाँ पुगेका गोताखोर भनेको त्रिशूलीसहितका नदीहरुमा अनुभव संगालेका जनशक्ति हुन् । तर, हिमतालको संरचना र वातावरण बिल्कुल फरक हो,’ उनले भने, ‘एक त नयाँ अनुभव त्यसमाथि शून्य डिग्रीमा हिमतालभित्र लामो समय बस्नु भनेको ज्यान माया मार्नु हो ।’

हाई अल्टिच्युटमा जाँदा त्यहाँको वातावरण अनुकूल बनाउँदै हाई पचाउँदै जानुपर्छ । तर, गोताखोर टोली चितवनको करिब ४ सय मिटरको उचाइबाट एकै दिन गोक्योको ४७ सय मिटरको उचाइमा पुगेको छ । तसर्थ, उनीहरुको स्वास्थ्यसमेत धरापमा पर्ने जोखिम छ । हिमालय क्षेत्रका विज्ञ मानिने डा. रेग्मीले गोताखोरलाई पूर्ण सचेत भएर हिमतालमा पस्न आग्रह गरे । हिमतालमा अन्धाधुन्ध प्रवेश गर्नुभन्दा पहिले उच्च प्रविधियुक्त क्यामेरा जडान गरी बालकहरु रहेको स्थान हेर्न सकिने डा. रेग्मीको सुझाव छ ।

खुम्बु क्षेत्रको आकर्षक पर्यटक गन्तव्य मानिने गोक्यो तालमा बालकहरु बेपत्ता भएपछि स्थानीय निराश छन् । गोक्यो तालछेवैमा रहेको होटल व्यवसायी पेम्बा शेर्पाले भने, ‘एक त बालकहरुको अवस्था अज्ञात भएर चिन्तित छौँ, त्यसमाथि हिमाल र पोखरीहरुलाई हामी देवता मान्छौँ । यस ताललाई पवित्र बनाउने चिन्ता पनि छ ।’

गोक्यो हिमताल विश्व रामसार सूचीमा सूचीकृत छ । यस तालको अवलोकन गर्न वार्षिक २० हजारभन्दा बढी विदेशी पर्यटक पुग्छन् ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु