गृहपृष्ठ देउवाको उपचारले रोकियो संवैधानिक परिषद, नयाँ प्रधानन्यायाधीश सिफारिस अनिश्चित
देउवाको उपचारले रोकियो संवैधानिक परिषद, नयाँ प्रधानन्यायाधीश सिफारिस अनिश्चित
संवैधानिक परिषदको आजका लागि डाकिएको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश सिफरिस गर्न प्रधानमन्त्रीसमेत रहेको परिषदका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बैठक डाकेका थिए ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवा आजै उपचारका लागि सिंगापुर जाने भएपछि बैठक स्थगित भएको हो । बैठक फेरि कहिले बस्ने भन्ने निश्चित नभए पनि देउवाले एक हप्तामा फर्कने जानकारी दिएको कानुनमन्त्री भानुभक्त ढकालले बताए ।
‘आज बैठक बस्ने भनेर हामीलाई पत्र पनि आइसकेको थियो, विपक्षी दलका नेतालाई पनि पत्र पठाइसकिएको थियो,’ ढकालले भने, ‘तर प्रमुख प्रतिपक्षी दलका नेता तथा परिषद सदस्य शेरबहादुर देउवा विदेश भ्रमणमा जाने जानकारी आएपछि बैठक स्थगित भएको हो ।’
कानुनमन्त्रीले एक हप्तामा आउने जानकारी देउवाले गराएको बताए पनि देउवाका स्वकीय सचिव भानु देउवाले एक हप्तामा आउने सुनिश्चितता नभएको बताए । ‘उहाँ पेटको समस्याका कारण उपचारका लागि जान लाग्नुभएको हो, कति दिन लाग्छ भन्ने कुरा पुगेपछि मात्र थाहा हुन्छ,’ सचिव देउवाले भने । पत्नी आर्जुसहित सिंगापुर जान लागेका देउवा उपचारपछि फर्कनेछन् ।
देउवाको उपचारका कारण प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया भने प्रभावित हुने देखिएको छ । त्यसले नियुक्ति प्रक्रियामात्र नभएर सर्वोच्चको नेतृत्वको विषयमा समेत अन्योल थप्नसक्ने अवस्था छ । संसदीय समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी आइतबारदेखि १५ दिनको बिदा लिएर बसेका छन् । १६औं दिन उनी फर्किए के हुन्छ भन्ने अन्योल रहेका बेला नयाँ न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नसमेत ढिला हुँदा थप अन्योल बढेको छ ।
अहिले ओमप्रकाश मिश्रले कायम मुकायम चलाए पनि जोशी फर्किएमा वरिष्ठताका हिसाबले स्वतः उनै कामु प्रधान्यायाधीश हुन्छन् । त्यसैले त्यसअघि प्रक्रिया टुंग्याएर नयाँ प्रधानन्यायाधीश नियुक्ति गरे सर्वोच्चको नेतृत्व कसले गर्ने भन्ने प्रश्न रोकिने अवस्था हुन्छ भने जोशीले उठाएको शैक्षिक प्रमाणपत्र छानबिनका विषयमा पनि सर्वोच्चले निर्णय दिन सक्ने अवस्था हुन सक्छ ।
प्रकाशित समय : १५:१६ बजे



















