गृहपृष्ठ बिमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ प्रिमियम
बिमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ प्रिमियम
बिमा कम्पनीहरूले आर्थिक वर्ष २०७४/७५ मा सन्तोषजनक व्यवसाय गरेका छन् । कारोबारको तथ्यांकअनुसार अधिकांश कम्पनीको प्रिमियम (बिमा शुल्क) संकलन वृद्धि भएको छ । बिमा समितिका अनुसार जीवन र निर्जीवन बिमा कम्पनीहरूले ७३ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २७.८३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष बिमा कम्पनीहरुले ५७ अर्ब ४४ करोड ४५ लाख ५९ हजार रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
बिमा व्यवसाय विस्तारको गति तीव्र हुँदै गर्दा कम्पनीहरु पनि बिमा शुल्क बढाउन सफल भएका हुन् । पछिल्लो समय दुर्गम भेगमा बिमा साक्षरता बढेको बिमा समितिको दाबी छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष जीवन बिमा कम्पनीले बिमा व्यवसाय विस्तार गरेर ३१.७६ प्रतिशत प्रिमियम बढाएका छन् । गत आार्थिक वर्षसम्म १७ वटा जीवन बिमा कम्पनीले ५१ अर्ब दुई करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । अघिल्लो आवसम्म आठवटा जीवन बिमा कम्पनीले ३८ अर्ब ७२ करोड प्रिमियम संकलन गरेका थिए ।
प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्यले पछिल्लो समयमा सर्वसाधारणमा बिमासम्बन्धी चेतना वृद्धि र कम्पनीको व्यवसाय विस्तार भएका कारण प्रिमियम संकलन बढेको बताए । ‘बिमाको बजार विस्तार भइरहेको छ, आगामी आवमा अझ बजार बढ्छ ।’ उनले भने । बिमा कम्पनीका अनुसार अघिल्लो वर्ष विभिन्न कारणले एजेन्टले राम्रोसँग काम गर्न सकेका थिएनन् । तर, अहिले राम्रोसँग काम गर्न पाएका छन् ।
गत आव २० वटा निर्जीवन बिमा कम्पनीले २२ अर्ब १३ करोड प्रिमियम संलकल गरेको बिमा समितिको तथ्यांक छ । अघिल्लो आवमा १७ वटा निर्जीवन बिमा कम्पनीले १९ अर्ब बिमा शुल्क आर्जन गरेका थिए । आव २०७३/०७४ को तुलनामा आवको तुलनामा गत आव निर्जीवन कम्पनीले साढे १६ प्रतिशत बढी प्रिमियम शुल्क बुझाएका छन् ।
३० खर्बको अर्थतन्त्र भएको देशमा साढे १६ प्रतिशतले प्रिमियम शुल्क बढ्नु नै सन्तोषको विषय नभएको जोशीको भनाइ छ । व्यापार तथा बैंकिङ कर्जा बढ्दा बिमा व्यवसाय अझ धेरै बढ्नु पर्ने हो’, उनले भने, ‘यो राम्रो वृद्धि होइन सामान्य हो ।’
गत आवसम्म जीवन बिमा कम्पनीले ३१ अर्ब ३८ करोड रुपैयाँ बिमा नवीकरणबाट प्रिमियम संकलन गरेका छन् । बिमा कम्पनीले वैदेशिक रोजगारमा जानेसँग एक अर्ब ८३ करोड रुपैयाँको प्रिमियम संकलन गरेका छन् । एक अर्ब ६ करोड प्रिमियम एकपटक गरिने बिमाबाट संकलन भएको छ । यो बिमा ट्राभल्स तथा अन्य प्रयोजनमा गरिने एकपटक हुने बिमा हो । जीवन बिमातर्फ १५ अर्ब २० करोड पहिलो प्रिमियमबापत संकलन भएको छ ।
गत आव १० वटा नयाँ जीवन बिमा कम्पनी थपिएका छन् । नयाँ बिमा कम्पनीमध्ये आईएमई लाइफ इन्सुरेन्सले ५२ करोड २३ लाख प्रिमियम संकलन गरेको छ । युनियन लाइफले ८४ करोड ९४ लाख, ज्योति लाइफले २८ करोड ४९ लाख, सन् नेपाल लाइफले २९ करोड ६९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । रिलाइन्स लाइफले आठ करोड ६४ लाख, रिलायवल लाइफले ४२ करोड ७७ लाख रुपैयाँको प्रिमियम संकलन गर्न सफल भएका छन् ।
नयाँ बिमा कम्पनीमध्ये सिटिजन लाइफले ४० करोड ३७ लाख, प्रभु लाइफले ११ करोड ७७ लाख र सानिमा लाइफले नौ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
नेपाल पुनर्बिमा कम्पनीले गत आव तीन अर्ब ८२ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो आवमा बिमा व्यवसायीले तीन अर्ब ४४ करोड रुपैयाँको प्रिमियम गरेका थिए । हाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब छ । अघिल्लो आवमा पुनर्बिमा कम्पनीमा ५१ करोड ४० लाख रुपैयाँको बिमा दाबी परे पनि गएको आवमा भने दाबी नै नपरेको तथ्यांक समितिले दिएको छ ।
अघिल्लो आर्थिक वर्ष १७ निर्जीवन बिमा कम्पनीहरूले १९ अर्ब ३ करोड ८८ लाख २१ हजार रुपैयाँ प्रिमियम संकलन गरेका थिए । त्यो भन्दा अघिल्लो वर्ष यी बिमा कम्पनीहरूको १४ अर्ब ९० करोड ३६ लाख ९६ हजार रुपैयाँ प्रिमियम संकलन थियो । हाल मुलुकमा १८ वटा जीवन, २० वटा निर्जीवन र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् ।
प्रकाशित समय : २२:०९ बजे



















