काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकारलाई बल्खुका तरकारी व्यापारीको चुनौती, ‘बिल छैन के गर्छौ ?’

9.35K
shares

काठमाडौँको बल्खुस्थित तरकारी बजारका अधिकांश व्यापारीको मनोमानीको पर्दाफास भएको छ । अधिकांश तरकारी व्यापारीले बिलबिजक बिना नै तरकारी खरिद तथा बिक्री गर्ने गरेको पाईएको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलिले सोमबार बिहान गरेको अनुगमनका क्रममा यस्तो तथ्य थाहा भएको हो । अधिकांश तरकारी पसल दर्ता छैनन् भने तरकारी खरिदको बिलसमेत उनीहरुसँग नभएको अनुगमन टोलीले फेला पारेको छ ।

गैरकानूनी रुपमा संचालन भईरहेका झण्डै ९० प्रतिशत तरकारी बिक्रेतासँग तरकारी खरिदको कुनै पनि किसिमको अभिलेख छैन । एकाबिहानै राजधानी बाहिरबाट आउने तरकारीका ट्रकसँग तरकारी झार्ने र खुद्रा तथा थोक बिक्री गर्ने गरेका व्यापारीलाई ट्रकबाट झारिएको तरकारीको मूल्यको दरसमेत थाहा नभएको पाइएको छ । मूल्य निर्धारण भएपछि बिक्रीको आधारमा तरकारीको मूल्य तोकिने उनीहरुले बताए । ट्रकबाट झारेको तरकारीको खरिद र विक्री मूल्य कति भन्ने उत्तरसमेत व्यापारीले अनुगमन टोलीलाई दिन सकेनन् । खरिद बिल र बिक्री दरका बारेमा नै निकै बेर दुईपक्षीय वादविवाद भएको थियो ।

व्यापारीको कुराले त्यहाँ बेवारिसे रुपमा तरकारी आउने गरेको स्पष्ट पारेको अनुगमन टोलीले जनाएको छ । बिक्री हुन्छ अनि व्यापारिले फोन गरेर तरकारीको मूल्य दिन्छन् । उनीहरुले अनुगमन टोलीसँग भने, ‘बजार हेरेर मूल्य निर्धारण हुन्छ, बजारमा आवश्यकताभन्दा बढी माल आए मूल्य कम हुन्छ, आवश्यकता भन्दा कम आए मूल्य बढी हुन्छ ।’

तरकारी विक्रेता दामोदर नेपालले कुनै पनि तरकारीको निश्चित मूल्य नहुने दाबी गर्दे एउटै तरकारीको तीन चार थरी मूल्य हुने बताए । बल्खु कृषि तथा तरकारी बजारका संचालक मोहन बस्नेतले डोको–डोकोबाट संकलन गरेर ल्याएको तरकारी चोक चोकमा बेच्ने अवस्थालाई केही व्यवस्थित गर्दै छानामुनी सारिएकाले अन्य उद्योग व्यवसायजस्तो कृषि व्यवसायलाई हेर्न नुहुने बताए । ‘कानुनी रुपमा दर्ता हुने र बिलबिजक जारी गर्नेलगायत काम भईरहेको भए पनि किसानले बिल दिने र व्यापारीले बिल काट्ने पद्धतिको सुरुवात नभएसम्म तरकारीको मूल्यलाई व्यवस्थित गर्न सकिँदैन,’ उनले भने ।

बिलबिजक र करको ठूला–ठूला कुरा गर्ने सरकारले खरिद बिक्रीको कुनै पनि अभिलेख नदेखाउने र बिना दर्ता संचालन भईरहेका तरकारी बजारलाई अवैध भन्ने आँट भने गरेन । अनुगमन टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले कानुनले कल्पना गरेको व्यवस्थित बजार नपाइएको बताए । अनुगमनमा अवरोध श्रृजना गरेको भन्दै एक व्यापारीलाई नियन्त्रणमा लिइएको छ । तर, बिल बिजक बिना तरकारी बेच्ने र खरिद बिल बिना नै ट्रकका ट्रक तरकारी झार्ने व्यापारीलाई कानुनी दायरमा ल्याउन सरकारले आवश्यक नठानेको भन्दै कतिपयले असन्तुष्टि पसिन जनाएका छन् । यसअघि पटक–पटकका अनुगमनमा पनि मूल्य सूची, खरिद मूल्य र बिक्री मूल्य तथा बिल बिजकको समस्या देखेको अनुगमन टोलीले यसपटक पनि अर्को अनुगमनसम्मका लागि व्यापारिलाई अवैध काम गर्न छुट दिएको छ । विभागका निरीक्षक अधिकृत दिपक पोखरेलको नेतृत्वको अनुगमन टोली सोमबार बिहान ३ बजे बल्खु तरकारी बजार पुगेको थियो ।

 

यसैबीच बल्खुस्थित तरकारी बजारका व्यवसायीले बल्खुचोकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभागको अनुगमन टोलीले सोमबार विहान झिसमिसेमै बल्खुस्थित तरकारी बजारमा छापा मारेपछि व्यवसायी र अनुगमन तोलीबीच झडपको अवस्था पैदा भएको र अनुगमन टोलीमाथि नै अभद्र व्यवहार गर्ने व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति विभागका अधिकृत दीपक पोखरेलको नेतृत्वमा अनुगमनका लागि गएको टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा सोमबार नै आएर स्पष्टिकरण पेश गर्न निर्देशन दिएको बुझिएको छ । अवैधानिक रूपले कारोबार गरिएको, व्यवसाय दर्ता नगरिएको पाइएपछि सोबारे सोधपुछ गर्दा अनुगमन टोलीमाथि अभद्र व्यवहार गर्ने रवि साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।