global ime bank Long Banner Ad

गृहपृष्ठ सय वर्षमा पनि तन्नेरी नै छु : राष्ट्रकवि

सय वर्षमा पनि तन्नेरी नै छु : राष्ट्रकवि

सय वर्षमा पनि तन्नेरी नै छु : राष्ट्रकवि

 

यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी

नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी ।

 

उमेरले सताब्दी पार गर्दासमेत नथाकेका राष्ट्रकवि माधवप्रसाद घिमिरे जोसिलोे पारामा कविता वाचन गर्दै थिए, ‘आई कहिल्यै नसकिने चैत वैशाख मेरा, लाई कहिल्यै नसकिने प्रित नौलाख मेरा।’  आफ्नै कविताको यो अंशमा जस्तै सय वर्षको उमेरमा पनि सबैसँग आत्मियता प्रकट गरिरहेका थिए राष्ट्रकवि । बयोवृद्ध उमेरमा उनको प्रस्तुति र हाउभाउ देखेर उपस्थित अचम्मिच थिए । धेरैको अनुरोध टार्न नसकेर राष्ट्रकविले कविताका पक्ति सुनाउन थाले । यो दृश्य थियो राष्ट्रकवि घिमिरेको एक सयौं वर्षको जन्मोत्सव मनाउने सन्दर्भको, उनकै घर लैनचौरको । राष्ट्रकविको अघि पर्दा जोश जाँगर, सोच र व्यवहार अझै तन्नेरी भन्दा कम थिएन ।

राष्ट्रकविले आफ्नो तन्नेरी पनको रहस्यसमेत खोल्न भ्याए । ‘मनभित्र सकारात्मक सोच राख्ने र सतविचार तथा सिर्जनशील कामले अहिले पनि तन्नेरी जस्तै बन्न सघाएको छ,’ शुभकामना दिन आउनलाई उनले भने । जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तक ठूलै संख्यामा लैनचौर निवासमा भेला भएका थिए । सक्रियता र ऊर्जाको रहस्य सोध्नेप्रति उनको जवाफ थियो, ‘भर्खर त सय वर्ष लागे, अझै यस्ता धेरै जन्मदिन मनाउनै बाँकी छ ।’ उनले आफ्नो दीर्घजीवनको श्रेय प्रेम र प्रकृतिलाई दिए । काठमाडौं जस्तो ठाउमा पनि आफु खुला ठाउँमा बसेको बताउदै उनले भने, ‘फूल र चराहरुको बीचमा रमाएको छु, कविताको बारेमा सोच्दासोच्दै अर्थोक सोच्ने फुर्सदै छैन ।’

बि.सं. १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका हुन् राष्ट्रकवि घिमिरे । अझै उनको सक्रियता घटेको छैन । जन्मदिन मनाइरहँदा पनि निकै सक्रिय देखिए । शनिबार साँझनै सिस्नोपानी नेपालले उनको घरमै गएर जन्मदिन मनाएको रहेछ । आइतबार बिहानैदेखि साहित्य सर्जक र सर्वसाधारण शुभकामना दिन उनको घरमा पुगेका थिए । यो क्रम दिनभर चल्यो । उनको निवास खचाखच भरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकविको घरमै पुगेर फूलको बुकेसँगै जन्मदिनको शुभकामना दिइन ।

हत्तपत्त उनको बिर्सने बानी छैन । पहिले भेटेर गफ गरेका व्यक्तिलाई उनले चिन्छन् । नचिन्नेलाई पनि ‘ए हो ’ भनेर चासो पूर्वक स्वागत गर्दै पुर्नपरिचय लिए । सबैसँग दिल खोलेर हासेका उनमा कतैपनि बुढेसकालको छनक देखिएन । शताब्दी उमेर पुगेका घिमिरेलाई मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउने निर्णय गरेको छ । राष्ट्रकवि दम्पतीलाई रथारोहण गराउने सहितका चरणबद्ध अभिनन्दन कार्यक्रम तय भएका छन् । असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा रथारोहण हुने कार्यक्रम छ ।

जीवनको उपलब्धी प्रेम
जीवनको उत्तराद्र्धमा समेत राष्ट्रकवि सकारात्मकता र उत्साहका साहित्य सिर्जनामा व्यस्त छन् । ‘ऋतम्भरा’ महाकाव्य लेखिरहेका उनी जीवनकै उपलब्धी भने प्रेमलाई मान्छन् । महाकाव्य ऋतम्भरा पनि सुविचारमै केन्द्रित छ । ‘सारा विश्व नकारात्मकतामा जाँदै गरेको सन्दर्भमा खबरदारी गर्न योे कृति लेखिरहेको छु’ राष्ट्रकविले सुनाए । विज्ञान प्रविधिको युगमा मान्छे–मान्छेबाट टाढा भएकोले भावना मासिँदै गएकोप्रति उनी चिन्तित छन् । ‘प्रविधिले सम्बन्ध टाढा बनाएको छ, हाम्रो हृदयमा माया, प्रेम इत्यादि भावना चाहिँ सकिँदै गएको छ,’ अहिले लेखिरहेको महाकाव्यबाट केही अंश सुनाउदै घिमिरेले भने ।

गोरखापत्रले दिएको त्यो प्रेरणा
आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृति सापेक्ष ढंगबाट व्याख्या गर्ने उनका लेखाइ दीर्घसाधनाले भरिएका छन् । राष्ट्रकविले बि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए । त्यो कविताले नै आफूलाई साहित्यमा आउन प्रेरणा दिएको उनको स्मरण छ । गौरी खण्डकाव्य चर्चित मध्येको एक कृति हो । २०६२ सालमा राष्ट्रकविको उपाधि पाएका घिमिरेका ‘राष्ट्र निर्माता’, ‘धर्ती माता’, ‘पापीनी आमा’, ‘राजेश्वरी’ कृति प्रकाशित छन् । ‘नव मंजरी’, ‘नयाँ नेपाल–खण्डकाव्य’, ‘मालती मंगले–गिती नाटक’, ‘आफ्नै बाँसुरी आफ्नै गीत–निबन्ध संग्रह’, ‘शकुन्तला–नाटक’, ‘किन्नर किन्नरी–कविता संग्रह’ धेरै पढिएका कृति मानिन्छन् । ‘बाल लहरी’ र ‘घामपानी–बाल कविता संग्रह’ लगायत बालबालिका केन्द्रित धेरै कृति प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयले विशेष दीक्षान्त समारोह आयोजना गरी राष्ट्रकवि घिमिरेलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको छ । राष्टकवि घिमिरेलाई जन्मदिनको शुभकामना ।

प्रकाशित समय : ००:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु