गृहपृष्ठ सोनाली हत्या प्रकरण : हत्यारा पक्राउ गर्ने आश्वासनपछि बजार खुल्यो
सोनाली हत्या प्रकरण : हत्यारा पक्राउ गर्ने आश्वासनपछि बजार खुल्यो
महोत्तरीको औरही नगरपालिकाकी ९ महिने दूधे बालिका सोनाली चौधरीको हत्यारालाई पक्राउ गर्न माग गर्दै स्थानीयले बन्द गरेको औरही बजार खुलेको छ । ५ दिनदेखि बन्द महोत्तरीको औरही बजार प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको उपस्थितिमा भएको वार्तापछि खुलेको हो ।
वार्तामा स्थानीय प्रशासनले २० गतेभित्र अपहरणकारीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलित स्थानियबासीले बन्द बजार र बन्द बर्दिवास जलेश्वर सडकखण्ड खुलाएका छन् ।
भदौ २० भित्र अपराधीलाई पक्राउ गर्ने स्थानिय प्रशासनले प्रतिवद्धता जनाएपछि बन्द खुलाएको औरहीका पत्रकार धनवीर महतोले बताए । पत्रकार महतोका अनुसार प्रहरीले गरेको प्रतिवद्धताअनुसार अपराधीलाई पक्राउ गर्न नसके पुनः आन्दोलनमा उत्रने स्थानीयबासीको चेतावनी छ ।
गत भदौ १० गते साँझ औरही नगरपालिका १ बस्ने सन्तोष चौधरीका ८ महिने छोरी सोनाली चौधरीको अपहरणपछि हत्या भएको थियो । सीसीटीभी फुटेजका आधारमा अपहरणकारीको पहिचान भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।
दूरविनले अपराधीको खोजी गर्दै प्रहरी
९ महिने सोनाली हत्या काण्डमा संग्लन आरोपीको सिसिटिभी क्यामेराको फुटेजबाट पहिचान भए पनि हालसम्म पक्राउ गर्न नसक्दा महोत्तरी प्रहरी तनावमा छ । सादा पोशाकमा खटीएर अपराधीको खोजीमा लागेको भए तापनि अहिलेसम्म सफलता हात पार्न सकेको छैन ।
घटनामा सलग्लन महोत्तरीको भंगहा नगरपालिका वाडा नम्बर ९ सितापुर जमुनियाका २५ वर्षीय भरत साहका आमा बुवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले विभिन्न ठाउँमा दुरविनबाटसमेत अपराधीको खोजी कार्यलाई तीव्रता दिएको छ ।
भदौ २० गतेसम्म स्थानिय प्रशासनले अपराधीलाई पक्राउ गर्ने आश्वासन दिएकाले अपराधीलाई पक्राउ गर्न महोत्तरीमा एसपी, डिएसी, विभिन्न इलाकादेखि तल्लो अस्थायी प्रहरी पोस्टसम्मका प्रहरी अधिकारीको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका मुद्दा फाँटका प्रहरी अनिल महतोले जानकारी दिए ।
यता, इलाका प्रहरी कार्यालय गौशलाका सई प्रदीप भगतका अनुसार घटनामा सलग्नता देखिएका भरत साहको खोजी कार्यमा तिव्रता दिएको बताए । प्रहरी युनिट दिनरात साहको खोजीमा खटिएको र चाँडै पक्राउ पर्ने उनले बताए ।
छानविन गर्न उच्चस्तरीय समिति गठनको माग
दुई नम्बर प्रदेश सभाका सदस्यले घटनाको छानविनका लागि प्रदेश सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने आवाज उठाएका छन् । महोत्तरीको औरहीकी ९ महिने दूधे बालिकाको अपहरण पश्चात यौनहिंसा गरी हत्या गरिएको घटनाको छानविनका लागि प्रदेश सरकारले उच्चस्तरीय तदारुकता अपानाउनुपर्ने उनीहरुको माग छ ।
प्रदेशसभामा सांसदहरुले घटनाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले समिति गठन गर्ने बताएका छन् । मन्त्रि यादवले घटनाको निष्पक्ष छानविन गरि हत्यामा संलग्न व्यक्तिलाई कडा भन्दा कारबाही गरिने बताएका छन् ।
प्रकाशित समय : २३:४५ बजे



















