आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १२:५४
shares

सारांश
- आज नोभेम्बर १२ तारिख, विश्व निमोनिया दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
- निमोनिया रोकथाम र उपचार गर्न सकिने रोग भए पनि समयमै पहिचान र उपचारको पहुँच नहुँदा यसबाट धेरैले ज्यान गुमाइरहेका छन् ।
- दिवसको नारा ‘निमोनिया नियन्त्रणको नयाँ युग’ (A New Era of Pneumonia Control) रहेको छ ।
काठमाडौं । आज नोभेम्बर १२ तारिख, विश्व निमोनिया दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् २००९ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
यस वर्षको दिवसको नारा ‘निमोनिया नियन्त्रणको नयाँ युग’ (A New Era of Pneumonia Control) रहेको छ । निमोनियाको खोप, रोग पहिचान गर्ने उपकरण तथा उपचारमा भएका पछिल्ला प्रगतिलाई जोड दिँदै यस वर्षको नारा तय गरिएको हो ।
निमोनिया पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक हो । ग्लोबल बर्डन अफ डिजिजका अनुसार सन् २०२३ मा निमोनियाका कारण विश्वभर २५ लाख मानिसको मृत्यु भएको थियो। तीमध्ये ६ लाख १० हजार पाँच वर्षमुनिका बालबालिका थिए ।
कुपोषण, कम खोप दर, वायु प्रदूषण र धूम्रपान निमोनियाको जोखिम बढाउने प्रमुख कारण हुन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिमा यसको जोखिम बढी हुन्छ ।
निमोनिया रोकथाम र उपचार गर्न सकिने रोग भए पनि समयमै पहिचान र उपचारको पहुँच नहुँदा यसबाट धेरैले ज्यान गुमाइरहेका छन् । स्वस्थ पोषण, स्वच्छ हावा, खोप तथा आवश्यकताअनुसार एन्टिबायोटिक र अक्सिजनको उपलब्धताले निमोनियाबाट हुने मृत्युदर घटाउन सकिन्छ ।
यस दिवसको मुख्य उद्देश्य निमोनियाबारे जनचेतना फैलाउनु, रोकथाम तथा उपचारमा पहुँच बढाउनु र यसविरुद्धको अभियानमा आवश्यक स्रोतसाधन जुटाउनु हो ।

























