global ime bank Long Banner Ad

गृहपृष्ठ विद्यालय भवन बगाएपछि रितुङ माविको पठनपाठन ठप्प

विद्यालय भवन बगाएपछि रितुङ माविको पठनपाठन ठप्प

विद्यालय भवन बगाएपछि रितुङ माविको पठनपाठन ठप्प

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ ।

भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगंगा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो । पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले दुई हप्ताका लागि पठनपाठन बन्द गरिएको प्रअ खिमबहादुर छन्त्यालले बताए ।

कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसर कटानको उच्च जोखिममा परेपछि स्थानान्तरणको पहल थालिएको छ ।

बाढीले कटान गरेर कुइनेमंगलेको खरिबोटमा चन्द्रबहादुर र यामबहादुर छन्त्यालको घर बगाएको छ भने बेलबहादुर, चन्द्रप्रसाद, भक्तप्रसाद छन्त्याल र भक्तिप्रसाद विकको घर उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । नदीले बस्तीतर्फ कटान गर्न थालेपछि रघुगंगाको किनारमा अवस्थित घ्याँसीखर्कका १६ घर जोखिममा परेको छ ।

सहारा युवा क्लबको भवन र खेलमैदान बाढीले पुरिएको छ । दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगंगा नदीमाथि रहेको झोलुंगे पुल उच्च जोखिममा परेको छ । स्वास्थ्य चौकी भवन निर्माणस्थलमा बाढी परेर क्षति पुर्याएको छ । छहरीका दुई घर जोखिममा परेका छन् ।

पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत् आपूर्ति बन्द भएको छ । बाढी, पहिरो र कटानका कारण खेतीयोग्य जमिनमा समेत क्षति पुगेको पीडित चन्द्रबहादुर छन्त्यालले बताए । ‘घरमा भएको सबै सामान बाढीले बगायो, एकसरो ज्यानबाहेक केही रहेन,’ उनले भने ।

दुईवटा काठको अस्थायी पुल बाढीले बगाउँदा आवतजावतमा कठिनाइ भएको छ । छहरीस्थित शिवालय मन्दिर बाढीले बगाएको छ । झिङखानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवन पहिरोले पुरिएको छ । बाढी पहिरोका कारण एकजना महिलाको ज्यान जानाका साथै तीन करोड बराबरको भौतिक सम्पत्तिको क्षति भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु