गृहपृष्ठ १० वर्षीया बालिका श्रेयाको यसरी भयो बलात्कारपछि हत्या
१० वर्षीया बालिका श्रेयाको यसरी भयो बलात्कारपछि हत्या
पोखरा
लीला आधारभूत निमाविमा कक्षा ३ मा अध्ययनरत श्रेया बिक (सुनार) मामा कृष्ण सुनारको घरमा बस्दै आएकी थिइन् । भोक लागेर सोमबार बेलुका करिब साढे ५ बजे बिस्कुट किन्न मामाघरभन्दा केही तल पसल झरेकी बालिका कहिल्यै मामाघर फर्किन पाइनन् ।
बाटैमा १० वर्षीया अवोध बालिकामाथि बलात्कार प्रयास भयो । स्थानीय कुशुम पौडेलले बालिकामाथि जबर्जस्ती करणीको प्रयास गरेका थिए । घर र पानी ट्यांकीबीचको भागबाट स्थानीय कुशुम पौडेलले बालिकालाई फकाउँदै झाडीमा पु¥याएर बलात्कार प्रयास गरेका हुन् ।
मिठाई र १० रुपैयाँको बलमा झाडीमा पुर्याएपछि बालिका चिच्याउन थालेपछि उनले देब्रे हातले घाँटी थिचे र दाहिने हातको चोरी औंला यौनांगमा जबर्जस्ती घुसाएको कास्की प्रहरीले जनाएको छ । बालिका बेहोस भएपछि पौडेलले ढुंगाले अनुहार र टाउकोमा प्रहार गरेका थिए । झाडीकै बाटो बाँसघारी हुँदै मुख्य सडकमा निस्केर पानीको मूलमा गई हातखुट्टा धोएर पौडेल निरज खाजा घरमा पुगेका थिए ।
बिस्कुट लिन हिँडेकी तर सोमबार साँझबाटै बेपत्ता भएकी बालिकाबारे मामाले कृष्णले आफन्तकहाँ सोधपुछ गरे । तर, नभेटेपछि घरवरिपरि खोल्साखोल्सी र झाडीसहितको वनजंगलमा स्थानीयले बालिकाको अर्धनग्न शव देखेपछि तत्काल उनका आफन्त र प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङ र वडाप्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक नवीन कार्कीको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरी अपराधीको खोजतलास भएको थियो । सोमबार बिहान ११ बजेदेखि स्थानीय हेमबहादुर विकको भट्टी पसलमा साथीहरुसँग रक्सी खाएर बसेका कुसुम पौडेलले तल झर्दै गर्दा बालिकालाई एक्लै पसलतर्फ आउँदै गरेको देखेपछि बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
देशभर विभिन्न ठाउँमा बालिका, महिला र वृद्धासमेत बलात्कार र हत्याको सिकार बनिरहँदा कास्की प्रहरीले सोमबार साँझ भएको घटनाका अभियुक्त पौडेललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पोखराकी १० वर्षीया बालिका श्रेयाको हत्या गर्ने स्थानीय २७ वर्षीय कुशुम पौडेल नै भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दी, छहरा, कोदी बस्दै आएका पौडेलले बालिकालाई बलात्कारपछि हत्या नै गरेको पत्रकार सम्मेलनमा बताएका छन् । हत्याको आरोपमा पक्राउ परेका पौडेललाई कर्तव्य ज्यान मुद्दा चलाइने कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काँस्की प्रहरीले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिरहेका बेला स्थानीय बासिन्दाले दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी र प्रदर्शन गरेका थिए ।
प्रकाशित समय : ०२:१२ बजे



















